पोखरा– युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले नेपाल क्रिकेट संघ (क्यान) को विवादलाई छिट्टै अन्त्य हुने बताएका छन्। नेपाल खेलकूद पत्रकार मञ्च कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले क्यान विवाद अन्त्यका लागि आवश्यक निर्देशन दिएको बताएका हुन्।
पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै उनले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने उल्लेख गरे ।
खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उनको भनाइ छ।
सन् २०१९ मा हुने दक्षिण एशियाली खेलकूद (साग)लाई सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उहाँले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको बताए ।
आगामी बजेटले खेललाई प्राथमिकता दिने बताउँदै मन्त्री विश्वकर्माले युवा सशक्तीकरणका कार्यक्रमलाई पनि अघि बढाउने उल्लेख गरे।
पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रङ्गशाला निर्माण गरिने बताए। उनले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।