काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय क्लब एपीएफ र हिमालयन शेर्पा क्लबले अंक बाँडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा एपीएफ र हिमालयन शेर्पा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। पहिलो हाफमा गोलरहित बराबरी खेलेका दुबै टिमले दोस्रो हाफमा गोल गरेका थिए।
खेलको ४८औं मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। तर यो अग्रता धेरै बेर टिक्न सकेन। खेलको ५८औं मिनेटमा नै प्रविन कुमार स्याङ्तानले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरी दिलाए। बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा टुंगिएको हो।
लिग अन्तर्गत सोमबार दुई खेल हुँदै छन्, पहिलो खेलमा मनाङ मर्स्याङ्दी क्लबले त्रिभुवन आर्मी क्लबसँग सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, थ्रीस्टार र नेपाल पुलिस क्लबबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।