आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्समा पुगेर विश्वकप छनोट हुँदै एकदिवसीय मान्यता पाउने लक्ष्य थियो। प्रतियोगिताको सुरुवात राम्रो हुन सकेन। जिम्बावेसँगको पहिलो खेलमा हार ब्यहोर्दा पनि राम्रो अनुभव बटुल्ने मौका पायौं। उनीहरु विरुद्ध हामीले राम्रो ब्याटिङ गरेका थियौं। जिम्बावेको ब्याटिङ छुट्टै पाटो भयो। तर, हामीले टेस्ट टिम विरुद्ध २ सय ६० रनभन्दा बढी जोडेर ब्याटिङमा आत्मविश्वास बटुल्यौं। टेस्ट राष्ट्र विरुद्ध राम्रो ब्याटिङ गर्दा टिममा नयाँ ऊर्जा बढेको थियो।
यद्यपि हामीले त्यसपछि दुई खेल गुमायौं। यो हाम्रा लागि सबैभन्दा माथिल्लो स्तरको प्रतियोगिता थियो। त्यसैले सजिलो पक्कै थिएन। लगातार हार ब्यहोर्दा एकदिवसीय मान्यता पाउने लक्ष्यमा दबाब थपिएको थियो।
हामी अन्तिम खेल जितेर एकदिवसीय मान्यता पाउने बाटोमा अघि बढ्नेमा आत्मविश्वासी थियौं। राम्रो क्रिकेट खेलेर जसरी पनि एकदिवसीय मान्यता पाउने अभियानमा थियौं। त्यही हिसाबले बनाएको योजानमा सफलता हात पार्यौं। लगातार समूह चरणमा हङकङ र प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय टिम बन्न सफल भयौं।
कुनै एक विशेष खेलाडीभन्दा पनि टिम भावनाले मैदान उत्रिएका थियौं। टिममा अनुभवी र युवा खेलाडीको राम्रो समिश्रण भयो। जसले हामीलाई ऐतिहासिक सफलता हात पार्न सजिलो भयो।
सबैभन्दा पहिला सबै नेपालीलाई बधाइ दिन चाहान्छु। हामीलाई माया गर्ने र सहयोग गर्ने समर्थक तथा सरकारलाई धन्यवाद दिन चाहान्छु। एकदिवसीय मान्यता पाउनु नेपालका लागि एकदमै ठूलो सफलता हो। अब एदिवसीय मान्यतालाई कसरी कामय राख्ने भन्ने ठूलो प्रश्न छ।
योभन्दा अघि हामीले टी–२० मान्यता पनि पाएका थियौं। त्यो पाए पनि हामीले के गर्यौं त? अब हामीले एकदिवसीय मान्यता पायौं, खुसी छौं। तर, हामी ४ वर्षमा कसरी अघि बढ्ने त?अहिलेकै तरिकारले अघि बढ्ने हो भने केही उपलब्धि हात लाग्दैन।
उपलब्धि हात पार्न सबैभन्दा पहिला क्रिकेट एसोसिएसन वा क्रिकेट बोर्ड हुनुपर्यो। अबको ४ वर्षमा नयाँ किसिमको संरचना हुनुपर्यो। ५० ओभर, ४ दिवसीय र २ दिवसीय प्रतियोगिता सञ्चालन हुनुपर्यो। यो अवधारणामा हिँड्यौं भने मात्र हाम्रो क्रिकेट राम्रो हुन्छ। यी कुरा गर्न जरुरी पनि छ।
अर्कोतर्फ पूर्वाधार पनि विकास गर्नुपर्छ। नयाँ मैदान निर्माण गरेर अघि बढ्नुपर्छ। अनि मात्र हामीले क्रिकेट विकास गर्न सक्छौं। तर, यही अवस्थामा रहन्छौं भने ४ वर्षमा दुई-चार वटा खेल खेल्छौं अनि सकिन्छ।
टेस्ट मान्यताको पनि कुरा आएको छ। त्योभन्दा महत्वपूर्ण कुरा हामीले ४ वर्षका लागि पाएको एकदिवसीय मान्यतालाई कत्तिको सदुपयोग गर्न सक्छौं भन्ने हो। हामीले आगामी ४ वर्ष क्रिकेटमा विकास गर्न सक्यौं भने अवश्य पनि १० वर्षमा टेस्ट टिम बन्न सक्छौं।
छिटोभन्दा छिटो क्रिकेट विवाद आइसिसीमार्फत समाधान गरेर अघि बढ्नुपर्छ। ४ वर्षमा हामीसँग क्रिकेटको नयाँ किसिमको संचरना हुनुपर्छ। ५० ओभरका खेलहरु धेरैभन्दा धेरै हुनुपर्छ। ४ दिवसीय प्रतियोगितासँगै मैदान पनि भयो भने मात्र हामीले टेस्ट मान्यता पाउन सक्छौं।
(राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले टिम नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिएको अभिव्यक्ति)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।