पोेखरा- पोेखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको १२औँ खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टरलाई १ सय ४१ रनको लक्ष्य दिएको छ। १९.५ ओभरमा १ सय ४० रन बनाउँदा धनगढी अलआउट भएको हो।
बुटवलले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको धनगढीका ओपनिङ ब्याट्सम्यान नचले पनि कप्तान दिपेन्द्र सिंह ऐरीको अर्धशतकमा धनगढी मध्यम योगफलमा पुगेको हो। ४५ बल खेलेका दिपेन्द्रले ६ चौका २ छक्कासहित ६१ रन बनाए।
ओपनिङमा आएका सुवेन्दु पाण्डेले ७ बलमा १ रन साथै रोड्रिगो थोमसले ६ बलमा ५ रन बनाएका थिए। ५ बल खेलेका सन्दीप रजाइली शून्यमै आउट भए। उत्कृष्ट लयमा देखिएका सन्दीप जोरा ३२ बलमा ३९ रन बनाउँदा रनआउट हुन पुगे। उनले ४ चौका १ छक्का हानेका थिए। चौथो विकेटका लागि सन्दीपले दिपेन्द्रसँग ८७ रनको साझेदारी गरेका थिए। दीपक पुनियाले ५ बलमा ४ रन हाने।
बुटवलका लागि अभिनास बोहराले ४ विकेट लिए। ३.५ ओभर बलिङ गरेका उनले २६ रन खर्चेका थिए। यस्तै ललित भण्डारीले तीन र सोमपाल कामीले एक विकेट लिए।
यसअघि धनगढीले पहिलो खेलमा विराटनगरलाई ५ रनले हराएको थियो। दोस्रो खेलमा काठमाडौंसँग १ सय ६ रनले हारेको धनगढी तेस्रो खेलमा चितवनसँग ५२ रनले हारेको थियो। यस्तै पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल दोस्रो खेलमा चितवनसँग १ सय १९ रनले हारेको थियो भने तेस्रो खेलमा पोखरालाई ८ विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।