एजेन्सी– युरोपेली मुलुक फिनल्याण्ड विश्वकै खुशी मुलुक रहेको राष्ट्रसंघीय तथ्यांकले जनाएको छ । राष्ट्रसंघद्वारा सार्वजनिक सन् २०१८ को ‘विश्व खुशी प्रतिवेदन’ अनुसार गतवर्ष १ नम्बरमा रहेको नर्वे यसवर्ष दोस्रो नम्बरमा झरेको छ भने तेस्रो, चौथो र पाँचौं नम्बरमा क्रमशः डेनमार्क, आइसल्याण्ड र स्वीजरल्याण्ड छन् ।
उक्त प्रतिवेदन राष्ट्रसंघका लागि सस्टिनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले तयार पारेको हो ।
देशको आय, स्वतन्त्रता, स्वस्थ आयुदर, सामाजिक सहयोग तथा उदारता मापदण्डका आधारमा खुशीको आधार तय गरिएको हो ।
शीर्ष ५ स्थानमा रहेका मुलुकले यी सबै मापदण्डमा उच्च नम्बर प्राप्त गरेको रिपोर्टका सह सम्पादक जोन हेलिवेलले बताएका छन् । विश्व खुशी रिपोर्ट तयार पार्न थालेयता डेनमार्क, स्वीजरल्याण्ड, नर्वे र फिनल्याण्डले शीर्ष स्थान ओगटेका छन् ।
यसैगरी यस वर्ष नेदरल्याण्ड छैटौं नम्बरमा छ भने क्यानडा, न्युजिल्याण्ड, स्वीडेन र अष्ट्रेलियाले क्रमशः सातौं, आठौं, नवौं र दशौं नम्बरको स्थान पाएका छन् । अमेरिकाभने गतवर्षभन्दा चार स्थान तल झरी १८ औं खुशी मुलुकमा परेको छ ।
कोलम्बिया युनिभर्सिटीको सेन्टर फर सस्टिनेबल डेभलपमेन्टका निर्देशक जेफ्री डी सासका अनुसार मोटोपनाको महामारी र डिप्रेसनका कारण अमेरिकी खुशीपना खस्किएको हो ।
विकसित मुलुकमध्ये जर्मनी १५ औं, बेलायत १९ औं, जापान ५४ औं, रुस ५९ औं र चीन ८६ औं स्थानमा छन् ।
अफ्रिकी मुलुकहरु विश्वकै बेखुशी अर्थात् दुःखी मुलुकमा पर्छन् । १ सय ५६ मुलुकमा सबैभन्दा पुछारमा बुरुन्डी छ भने त्यसपछि मध्य अफ्रिकी गणतन्त्र १ सय ५५ औं, दक्षिण सुडान १ सय ५४ औं, तान्जानिया १ सय ५३ औं र यमन १ सय ५२ औं मुलुक पर्छन् । विश्वभर खुशी मुलुकको अवधारणा ल्याउने भुटान आफैं भने ९७ औं स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।