राजविराज– सप्तरी सदरमुकाम राजविराजस्थित कल्टुदास पोखरीमा डुबेर वडा नं. ४ का ५१ वर्षीय मोहम्मद साह आलमको मृत्यु भएको छ। सोमबार दिउँसो पोखरीमा डुबेका आलमको शव मंगलबार बिहान फेला परेको हो।
प्रहरीको टोलीले सोमबार साँझसम्म उनको खोजी गरेको थियो। मंगलबार बिहानै पानीमाथि तैरिएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ।
मृतक आलम ठेला चलाउने काम गर्दै आएका थिए भने उनकी पत्नी कपडा धुने काम गर्छिन्। पोखरीको डिलमा कपडा धुँदै गरेकी पत्नीसँगै गएका बेला आलम पोखरीमा डुवेको स्थानीयले जानकारी दिए।
मृतकको शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।