पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १८ रनले हराएको छ। १ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा १ सय २८ रनमा अलआउट भएको हो।
विराटनगर टाइटन्सका लागि उत्कृष्ट ब्याटिङ गर्दै लोकेश बमले अर्धशतक बनाए। आठौँ क्रममा ब्याटिङमा आएका उनले ३६ बलमा ६२ रन बनाएका हुन्। जसमा उनले ५ चौका ५ छक्का हाने।
यसअघि चितवनले पहिलो खेलमा पोखरालाई ६ विकेटले, दोस्रो खेलमा बुटवललाई १ सय १९ रनले साथै तेस्रो खेलमा धनगढीलाई ५२ रनले हराएको थियो। विराटनगर पहिलो खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो। दोस्रो खेलमा पोखरालाई ४५ रनले जितेको थियो भने तेस्रो खेलमा काठमाडौंसँग ३६ रनले हारेको थियो।
विराटनगरका लागि ओपनिङमा आएका सुनिल धमलाले ४ बलमा ५ रन हानेका थिए। अर्का ओपनर मोहम्मद जायद आलम ४ बलमा १ रन बनाउँदा आउट भए। कप्तान प्रदीप ऐरीले १९ बलमा ९ रन बनाए। नोमन खानले १६ बलमा १८ रन बनाए। राज् रिजाल २ बलमा १ रन बनाउँदा आउट भए। पुनित मेहराले २६ बलमा २४ रन बनाए। राजेश पुलामी मगर शून्यमै रन आउट भए।
चितवनका करण केसी र भुवन कार्कीले तीन–तीन साथै रोहन मुस्तफाले दुई र सन्नी पटेलले एक विकेट लिए।

यसअघि विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। कमजोर बनिरहेको चितवनको ब्याटिङलाई पाँचौँ क्रममा ब्याटिङमा आएका आरिफ शेख र छैठौँ क्रममा आएका सन्नी पटेलले उकासेका हुन्। दुईबीच ५४ रनको अविजित साझेदारी रह्यो।
चितवनका लागि ओपनिङ ब्याटिङमा आएका रोहन मुस्तफाले १० बलमा ७ रन र कप्तान पारस खड्काले ३८ बलमा ३५ रन बनाए। जसमा पारसले ५ चौका हानेका थिए।
बाबर हायातले ३१ बलमा २५ रन बनाए। अनिल कुमार साहले १४ बल खेलेर ३ रन मात्रै बनाए। आरिफ शेखले २२ बलमा ३९ रन बनाए। उनले ३ चौका ३ छक्का हाने। साथै सन्नी पटेलले ८ बलमा २७ रन बनाए। उनले १ चौका ३ छक्का हाने।
विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहम्मद जायद आलमले एक–एक विकेट लिए।
.JPG)
.JPG)
.JPG)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।