पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई १ सय ४७ रनको लक्ष्य दिएको छ।
विराटनगरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको हो। कमजोर बनिरहेको चितवनको ब्याटिङलाई पाँचौँ क्रममा ब्याटिङमा आएका आरिफ शेख र छैठौँ क्रममा आएका सन्नी पटेलले उकासेका हुन्। दुईबीच ५४ रनको अविजित साझेदारी रह्यो।
चितवनका लागि ओपनिङ ब्याटिङमा आएका रोहन मुस्तफाले १० बलमा ७ रन र कप्तान पारस खड्काले ३८ बलमा ३५ रन बनाए। जसमा पारसले ५ चौका हानेका थिए।
बाबर हायातले ३१ बलमा २५ रन बनाए। अनिल कुमार साहले १४ बल खेलेर ३ रन मात्रै बनाए। आरिफ शेखले २२ बलमा ३९ रन बनाए। उनले ३ चौका ३ छक्का हाने। साथै सन्नी पटेलले ८ बलमा २७ रन बनाए। उनले १ चौका ३ छक्का हाने।
विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहम्मद जायद आलमले एक–एक विकेट लिए।
यसअघि चितवनले पहिलो खेलमा पोखरालाई ६ विकेटले, दोस्रो खेलमा बुटवललाई १ सय १९ रनले साथै तेस्रो खेलमा धनगढीलाई ५२ रनले हराएको थियो। विराटनगर पहिलो खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो। दोस्रो खेलमा पोखरालाई ४५ रनले जितेको थियो भने तेस्रो खेलमा काठमाडौंसँग ३६ रनले हारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।