काठमाडौं- बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा अलभेसलाई पराजित गरेको छ।
शनिबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले अलभेसलाई ४-१ गोलअन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी, लुइस स्वारेज, एन्टोनी ग्रिजम्यान र अर्टुरो भिडालले गोल गरे।
खेलको १४औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। खेलको ४५औं मिनेटमा भिडालले गोल गरेपछि बार्सिलोना पहिलो हाफसम्म २-० गोलको अग्रतामा पुग्यो।
खेलको ५६औं मिनेटमा पेरे पोन्सले गोल गर्दै अलभेसलाई २-१ गोलको स्थितिमा ल्याए। तर ६९औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई ३-१ गोलको स्थितिमा पुर्याए। योसँगै २०१९ मा मेस्सीले ५०औं गोल पनि पूरा गरे।
खेलको ७५औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै स्वारेजले बार्सिलोनालाई ४-१ गोलको जित दिलाए।
लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको जितपछि १८ खेलबाट ३९ अंक भएको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडको १७ खेलबाट ३६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।