काठमाडौं- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले तीन वर्षभित्रमा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बन्ने गरी काम सुरु गर्ने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री खनालले सबैखाले कृषि उत्पादनमा तीन वर्षभित्र आत्मनिर्भर बनेर आयात बन्द गर्ने बताए।
‘राम्रो योजना ल्याउन सके अझै चाँडै आन्मनिर्भर बन्न सकिन्छ। गहिरो अध्ययन हुँदैछ,’ उनले भने।
उनले पाँच वर्षभित्रमा अर्गानिक उत्पादन निर्यात गर्न सकिनेसमेत दाबी गरे। कृषि उत्पादनमा आत्मनिर्भर बनेपछि अर्गानिक उत्पादन निर्याततर्फ लागिने बताउदै उनले १० वर्षभित्र फलफूल उत्पादनमा समेत आत्मनिर्भर हुने गरी काम सुरु गरिने बताए।
यसअघि बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै मन्त्री खनालले सो परियोजनालाई परिमार्जन गर्नुपर्ने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।