एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसदेखि जर्मनीसम्म प्राकृतिक ग्यास आपूर्ति गर्न निर्माणाधीन पाइपलाइनलाई रोक्ने उद्देश्यका साथ पाइपलाइन निर्माण गरिरहेका रूसी कम्पनीमाथि प्रतिबन्ध लगाउने कानुनमा हस्ताक्षर गरेका छन्।
अमेरिकी कङ्ग्रेसले उक्त कार्यबाट आफ्नो सहयोगी मानिँदै आएका यूरोपेली मुलुकहरूबाट क्रेमलिनले फाइदा लिनसक्ने भन्दै चासो ब्यक्त गरेपछि राष्ट्रपति ट्रम्पले ग्यास पाइपलाइन निर्माणको जिम्मा पाएका कम्पनीलाई प्रतिबन्ध लगाउने पत्रमा हस्ताक्षर गरेका हुन्।
प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपतिको निर्णयप्रति यूरोपेली संघ (इयू) ले असन्तुष्टि प्रकट गरेको छ । ट्रम्पले वासिङ्टन, डीसीबाहिर ‘जोइन्ट वेस एन्ड्रुज’ नामक वायुसेनाको शिविर स्थापना गर्ने विधेयक र रूस–यूरोप पाइपलाइन निर्माण कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णयमा एकैसाथ हस्ताक्षर गरेका हुन्।
बाल्टिक सागरमुनि करिब ११ अर्ब अमेरिकी डलर लगानीमा निर्माणाधीन ‘नर्डस्ट्रिम टु पाइपलाइन’ को निर्माणपछि यूरोपको शक्तिशाली अर्थतन्त्रका रूपमा चिनिने जर्मनीमा रूसले आफ्नो ग्यास आपूर्तिलाई दोब्बर बनाउने लक्ष्य राखेको छ ।
अमेरिकी सांसदहरूले पाइपलाइनले दुश्मन शक्ति (रूस सरकार) लाई सम्पन्न बनाउने र यसबाट रूसी नेता भ्लादिमिर पुटिनको यूरोपमा प्रभाव बढ्ने निष्कर्षसाथ अमेरिकी दुबै सदनले प्रतिबन्धलाई अनुमोदन गरेको हो । कङ्ग्रेसका दुबै सदनले प्रतिबन्ध लगाउने कानूनलाई मङ्गलबार अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएका थिए ।
डेमोक्रेटिक प्रतिपक्षीद्वारा पुटिनप्रति नरम बनेको आरोप खेप्ने गरेका ट्रम्पले कानूनलाई अनुमोदन गर्नुको विकल्प कमै थियो ।
अमेरिकी कडा प्रतिरोधका कारण मस्को र इयू नराम्रोसँग चिढिएका छन् ।
जर्मनीका विदेशमन्त्री हेइको मासले निर्णयप्रति अमेरिकी समकक्षी माइक पोम्पेओसँग शुक्रबार फोनवार्ता गरेका छन्। जसमा पोम्पेओले कडा विरोध जनाएको अमेरिकी विदेशमन्त्रालय स्रोतले जनाएको छ ।
यसैबीच अमेरिकाले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै जर्मनीले विरोध गरेको छ । यसप्रति रूस र इयूले पनि अमेरिकी हस्तक्षेपको विरोध गरेका छन् ।
त्यस्तै रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकाले विश्व व्यापारलाई प्रभावित तुल्याउने सिद्धान्तलाई अघि सारेको भन्दै आफ्नो फेसबुक पेजमा अमेरिकी कदमको विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।