काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको समयमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता भएकाले नेपालको अहित हुने पक्षको जिम्मेवारी उनीहरूले लिनुपर्ने बताएका छन्।
नेकपाको स्थायी समिति बैठकमा उक्त विषयमा विवाद उत्पन्न भएपछि नेता पन्तले भने, ‘सम्झौताको जुन प्रकारको ड्राफ्ट आएको छ। त्यसको जिम्मेवारी त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लिनुपर्छ।’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सम्झौता नेपालको हितमा भएकाले पारित गर्नुपर्ने मत राखेका थिए। स्थायी समितिमा बोल्ने केही सदस्यले भएको सम्झौताको बुँदा नै पढेर स्पष्ट हुनुपर्ने बताएका थिए। नेता पन्तले भने, ‘अमेरिकाको मात्रै पैसा होइन। त्यसमा हाम्रो पनि झण्डै १४ अर्ब परेको हुन्छ। लेखापरीक्षण अमेरिकाले गर्न पाउने हामीले गर्न नपाउने भन्ने छ।’ सम्झौता र नेपालको कानुन बाझिएकाले नेपालको कानुन निष्क्रिय बनाएर अमेरिकी चाहनाअनुरुप लागू हुन नसक्ने पन्तले बताए।
परराष्ट्रमन्त्री ज्ञवालीले इण्डो प्यासिफिकको अंग नभएको बताए पनि स्थायी समिति सदस्यहरु आश्वस्त हुन सकेका छैनन्। अमेरिकी अधिकारीहरुले नै इण्डो प्यासिफिकको अंग भएको बताएको कतिपय स्थायी समिति सदस्यहरुको मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।