काठमाडौं– काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरेको छ। कारबाहीबाट २ लाख ३७ हजार ३ सय ५० रुपैयाँ जरिवाना गरिएको छ।
काठामाडौं महानगरपालिकाको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने तर अन्य समयमा भने जथाभावी फाल्ने ८४ जनालाई कारबाही गरिएको महानगरको वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए।
उनका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने ८४ जनाबाट कारबाही स्वरुप सो रकम असुल गरिएको हो।
विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम ५ सय रुपैयाँदेखि १ लाखसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ। त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन्।
हरेक दिन महानगरले उपत्यकामा मात्रै ८ सय मेट्रिक टन फोहर व्यवस्थापन गर्दछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।