काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा अमेरिकी सहायतासम्बन्धी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषय पेचिलो बनेको छ।
केही सदस्यहरुले यसअघि नै आफ्नो धारणा राख्ने क्रममै विरोध गरेको विषय बैठकको अन्त्यतिर पुनः दोहोर्याएका छन्।
'म लगायत केही सदस्यले एमसिसीको कुरा निरन्तर उठाइरहेका छौं। त्यो किनभने, नेपाल सरकार र अमेरिकी सरकारको परियोजना एमसिसीका केही प्रावधानहरु अस्पष्ट, नेपालको संविधानसँग बाझिने र नेपालको सार्वभौम समानतासँग अमिल्दा देखिएका छन्', भीम रावलले भने।
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता प्रस्ताव संसदमा दर्ता भएर पनि पारित हुन सकेको छैन। नेकपाभित्रै यसलाई पारित गर्ने र नगर्ने दुईथरि धारणा रहिआएको छ।
परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले एमसिसीमा गम्भीर कुरा केही नभएकाले पास गरेर जानुपर्ने बताएका थिए। 'हामी केही सदस्यले भने एमसिसीका केही बुँदा प्रष्ट पार्न भनेका छौं', रघु पन्तले भने, 'उसको मात्रै पैसा होइन। त्यसमा हाम्रो १४ अर्ब पनि संलग्न हुन्छ, उसको अमेरिकामा लेखापरीक्षण हुने, हाम्रो महालेखाले चाहिँ गर्न नपाउने, सम्झौता र हाम्रो नेपालको कानुन बाझिएको अवस्थामा हाम्रो नेपालको कानुन निष्क्रिय भएर सम्झौता लागू हुने, यसका विभिन्न बुँदाहरु छन्।'
परराष्ट्रमन्त्रीले एमसीसी इण्डो प्यासिफिक स्ट्राटेजीको अंग होइन भनिरहेको तर अमेरिकाका पदाधिकारीहरुले यो हाम्रो स्ट्राटेजीको अंग हो भनिरहेका भन्दै आफूहरु अस्पष्ट भएको पन्तले बताए।
शनिबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलले बैठकमा उठेका विषयमा जवाफ दिएर बैठक टुंगिने बताइएको थियो। छलफलको क्रम टुंगिए पनि निष्कर्षमा भने पुगेन।
'बैठकमा पार्टी अध्यक्ष प्रचण्डले विभिन्न विषयमा प्रष्ट्याउने र परिमार्जन गर्ने विषयहरु राख्नुभयो। यसैगरी विधान संशोधन प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाहरुका बारेमा महासचिव पौडेलले प्रष्ट गर्नुभयो', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
प्रचण्डले प्रतिउत्तर सम्बोधनका क्रममा स्थायी कमिटीको बैठकमा व्यक्त विचारहरुले पार्टीलाई सुदृढीकरण गर्न, एकतालाई तीब्रता प्रदान गर्न, तीनै तहको सरकारलाई प्रभावकारी बनाउन र देशलाई सही दिशामा अघि बढाउन मद्दत पुगेको विचार व्यक्त गरेका थिए। अध्यक्ष र महासचिवको प्रतिउत्तर सम्बोधनपछि पनि सदस्यहरुले विभिन्न विषयहरुमा पुरक जिज्ञासाहरु राखेका थिए।
बैठक भोलिसम्मका लागि स्थगित भएको छ। बैठक आइतबार बिहान ११ बजे पुन बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।