इटहरी- सुनसरीको इटहरी उपहानगरपालिका ५ का रमेश कार्की (२२) र बराहक्षेत्र नगरपालिकाकी दिपा थापा (२०) बीच २०७५ मंसिरमा प्रेम विवाह भयो। रमेश र दिपाबीचको पहिलो भेट दिपा पढ्ने कलेजमा भएको हो। रमेश आफ्नी बहिनीको फारम भर्न कलेजमा जाँदा दिपासँग चिनजान भयो। केही छिनमै रमेशले दिपालाई फेसबुकमा रिक्वेस्ट पठाए। दिपालाई पनि एसेप्ट गर्न हतारो भयो।
सोही दिनदेखि कुराकानी सुरु भयो। एक युवासँगको दिपाको प्रेमसम्बन्ध भर्खरै अन्त्य भएको थियो। उनलाई पनि नयाँ भए पुरानो भुल्न सहज हुने महसुस भइरहेको थियो। विस्तारै कुराकानी बाक्लिँदै गयो। बीचमा कुरा मिलाउन रमेशकी बहिनीले भूमिका खेलिन्। दुवैतिरको कुरा यताउता गरिदिने र झगडा परे मिलाइदिने काम उनै बहिनीले गर्न थालिन्। छोटो समयमै प्रेम प्रगाढ हुँदै गयो। सँगै मर्ने, सँगै बाँच्नेसम्मका कसम खान भ्याए उनीहरुले।
त्यत्तिकैमा दिपाको घरमा विवाहको कुरा चल्न थाल्यो। उनले सबै कुरा रमेशलाइ भनिन्। रमेशले भने, ‘बरु म मर्छु तर तँलाईं छाड्न सक्दिनँ।’ त्यति भनेपछि दिपाको मन पग्लियो। दुवैले भागी विवाह गर्ने निर्णय गरे। विवाह भएको दुई महिनापछि रमेश बेपत्ता भए। दिपाले इटहरी उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी दिइन्। दीपाको लक्षण राम्रो नभएकोलगायत कारण देखाउँदै रमेश प्रायः घरबाहिर बस्न थाले।
एक दिन रमेशको मोबाइलमा कुनै अर्कै केटीसँगको फोटो देखेपछि दिपाले फोटो डिलिट गरिन्। त्यत्तिकैमा दुई जनाबीच भनाभन सुरु भयो। एक अर्कामा बोलचाल नै बन्द भयो। सासुससुराले पनि दिपालाई नै दोष देखाउँदै ‘छोरो मान्छेमा शंका गर्नु हुँदैन, छोरो मान्छे घुमफिर गर्छ त्यसमा बाधा गर्नु हुँदैन’ भन्न थाले। यदि समस्या भए कहिलै नफर्कने कागज गरेर विदेश जाउ हामी पैसा हाल्दिन्छौ’ भनेर आश्वासन दिए।
त्यसपछि अहिले दुवै पक्षका अभिभावकलाई बोलाएर मिलापत्र गर्ने कोशिस जारी छ। तर, रमेश बेपत्ता भएकाले समस्या समाधान हुन सकेको छैन।
दिपाको परिवार जसरी पनि समस्या समाधान होस् भन्ने चाहन्छ भने रमेशको परिवार कुनै न कुनै बहानामा दुवैलाई अलग गर्न खोजिरहेको छ। बरु विवाह दर्ता गर्ने र डिभोर्स गर्ने सहज बाटोको खोजीमा लागिपरेका छन् उनीहरु।
न्यून आय भएको परिवारकी दिपा र मध्यम परिवारका रमेशबीचको सम्बन्ध आर्थिक कारोबारमा पुगेको छ।
यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका ५ की रमिला राई (२१) र सोही गाउँका किशोर न्यौपाने (१९) नजिकैको एक रिसोर्टमा काम गर्थे। कामकै सिलसिलामा चिनजान भयो। विस्तारै दुईबीच मायाप्रेमको कुरा चल्न थाल्यो। केही दिनपछि रमिलाले भेडेटार घुम्न जाने प्रस्ताव राखिन्। किशोरले अस्वीकार गर्न सकेनन्।
भेडेटार गएको कुरा रमिलाको परिवारलाई थाहा भयो। परिवारले किशोरलाई रमिलालाई विवाह गर्न भने। किशोरको परिवारले आनाकानी गर्यो। जात नमिलेको भन्दै लामो समयपछि मात्र टीकाटालो गरिदिए।
केही महिनापछि रमिलाले माइतै बस्ने तर आफ्नो भाग सम्पत्ति दिन भनिन्। तर, किशोरको परिवारले सो कुरा स्वीकार गरेन। रमिलालाई त्यसमा चित्त बुझेन।
मानो चामलको व्यवस्था गरिदिन माग गर्दै उनी प्रहरीदेखि न्यायिक समिति गुहारिरहेकी छिन्। किशोरसँग घरबार नचल्ने मोडमा पुगेकी छिन् उनी। किशोरसँगको विवाह दर्ता गर्ने र केही अंश लिएर माइतमै बस्ने उनी बताउँछिन्।
यस्तै प्रकृतिका घटनाको संख्या दिनानुदिन बढिरहेको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम बताउँछिन्। एक वर्षमा मात्र २० वटा डिभोर्सका घटनाको फैसला गरिसकेको उनको भनाइ छ। त्यसमध्ये १५ वटा प्रेम विवाह पछाडिको पारिवारिक कारण डिभोर्स हुने गरेको गौतम बताउँछिन्।
उपमेयर गौतम सम्बन्धको बीचमा परिवारिक चासो, आर्थिक अवस्था, श्रीमान् विदेशमा बस्नुपर्ने बाध्यतालगायतका कारण समस्या आएको बताउँछिन्। साथै सामाजिक सञ्जालमा सहज पहुँच र त्यसले अपरिपक्क अवस्थामा नै प्रेम सम्बन्ध हुने र छिट्टै नै अविश्वासिलो वातावरण निर्माण गर्न पनि सहयोग गरिरहेको उनको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।