काठमाडौं– ‘नेपालमा प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, संघीयता पनि आयो। तर कताकता के हराए, के हराएजस्तो लाग्छ। लोकतन्त्र त छ तर, जीवन्त छैन’, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी तथा पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेले भने, ‘अहिले सत्ताधारीहरुले लोकतन्त्रलाई आफूअनुकूल प्रयोग गरिरहेका छन्।’
डा पाण्डे राजधानीस्थित मार्टिन चौतारीमा शुक्रबार ‘नेपालमा लोकतन्त्रको प्राण–प्रतिष्ठा’ विषयक प्रवचन कार्यक्रम बोल्दै थिए।
उनले नेपालको मात्र होइन छिमेकी देशको प्रसंग पनि उठाए। भने, 'विश्वकै लोकतन्त्र अव्यवस्थित छ अहिले। भारतले सात दशक भयो लोकतन्त्रको अभ्यास गरेको। कतिपय कुरा हामीले पनि ग्रहण गरेका छौं, भारतबाट। त्यो मुलुकको अवस्था लोकको दृष्टिबाट हेर्दा अहिले हेरिनसक्नु भएको छ।’
नेपालकै विगतलाई मियो बनाएर हेर्दा हाम्रा अवधारणा र अभ्यास फरकपन देखिएको जिकिर डा पाण्डेको छ। भारतमा जस्तो हामीले निरन्तर लोकतन्त्रको अभ्यास गर्न नपाएको सन्दर्भ जोड्दै उनले भने, ‘२००७ सालमा प्रजातन्त्र आएको केही वर्षमै ०१७ साल आइहाल्यो। ०४६ सालमा बहुदल आयो, फेरि राजाले हत्याइहाले।’
सबैभन्दा गहिरो समस्या त हामीकहाँ लोकतान्त्रिक भनिने दलहरुमा रहेको र यसले एक प्रकारको विरोधाभाषपूर्ण अवस्था सृजना गरेको डा. पाण्डेको ठहर छ। लोकतान्त्रिक भनिने दलहरुभित्र नै लोकतन्त्र नभएकाले लोकतान्त्रिक संस्कृति नबसेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे, ‘हामीकहाँ लोकतान्त्रिक भनिने पाटीभित्र नै लोकतन्त्र छैन। लोकतान्त्रिक संस्कृति नै नबस्ने। पाएको म्यान्डेट पनि पूरा गर्न नसक्ने। पार्टीभत्र कलह, अन्तरपार्टी कलह। सधैं अस्थिरता देखियो।’
उनले दलहरुले सृजना गरेको अस्थिरताबीच नै माओवादी युद्ध सुरु भएको प्रसंग उठान गरे। ०४६ सालमा चार महिनामा संविधान बनाएको र त्यसमा आफैं पनि सहभागी भएको उनले सम्झिए। ‘पञ्चायत अन्त्य भयो, बहुदल आयो, त्यतिलाई नै पर्याप्त ठान्यौं हामीले’, डा पाण्डेले सुनाए, ‘त्यसपछि के भनेर विचार गरिएन।’
बहुदलपछिको संविधानले तत्कालीन मुद्दाहरुलाई मात्र समेटेको र त्यसपछि विधितालाई सम्बोधन गर्न नसक्दा त्यसको असर समाज र अर्थतन्त्रमा देखिएको ठोकुवा गर्दै उनले यही अवस्था नै माओवादीका लागि मलिलो माटो बनेको बताए। ‘बहुदल आयो सबैको भलो हुन्छ भन्ने ‘भेग’ सोच मात्र थियो। कमा, फुलस्टप पनि परिवर्तन गर्न हुँदैन भन्ने थेगो थियो नेताहरुको। संविधान संशोधन जटिल थियो। तत्कालीन मुद्दामात्र समेटियो। विविधताको सम्बोधन भएन। उपेक्षित समुदायले केही पाएनन्’, ०४६ को परिवर्तनपछिको सेरोफेरोको सन्दर्भमा उनले भने, ‘अर्थतन्त्रबाट पनि राहत पाउने अवस्था थिएन। यही अवस्था माओवादीका लागि मलिलो माटो बन्यो। अस्थिरताका बीच राजाले पनि टाउको उठाउन पाए।’
फेरि आन्दोलन भयो। राजा फालिए। संविधानसभा गठन भयो तर पनि अस्थिरता उस्तै थियो। संविधान बन्न ८ वर्ष लाग्यो। ‘संक्रमणकाल भनेर भागवण्डाको राजनीति चलिरह्यो’, पुरानो अवस्थालाई उनले वर्तमानसँग जोड्दै भने, ‘अहिले दुईतिहाइको सरकार बन्यो। स्थिरता खोजे जनताले। विकास होस् भन्ने चाहे। अवस्था के छ, हामीले भोगिरहेकै छौं।’
वर्तमान राजनीतिको आयतनबारे पनि डा पाण्डेले मर्मस्पर्शी अभिव्यक्ति दिए। लोकतन्त्र हेर्दा जस्तो देखिएको छ, त्यसको आत्मा भने त्यस्तो नरहेको उनको बुझाइ छ। प्रवचन कार्यक्रममा उनी भन्दै थिए, ‘हेर्दा हृष्टपुष्ट छ लोकतन्त्र। सबै अंग पुगेको छ। संविसधानसभाबाट जनता आफैंले संविधान बनाएका छन्। सार्वभौम संसद छ। संसदप्रति उत्तरदायी निर्वाचित सरकार छ। स्वतन्त्र न्यायापालिका छ। संवैधानिक अंगहरु छन्। मोटो न मोटो संविधान छ। संविधानले सबै अधिकार प्रत्याभूत गरिदिएको छ। योभन्दा हृष्टपुष्ट लोकतन्त्र होला त कतै? तर यो लोकतन्त्रको आत्मा छैन, शरीरमात्र छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।