पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा विराटनर टाइटन्सविरुद्ध काठमाडौं गोल्डेन वारियर्सले १ सय ६० रनको लक्ष्य दिएको छ। काठमाडौंले पूरा २० ओभर खेलेर ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको हो।
काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ल ३३ बलमा ४५ रन बनाए। उनले ३ चौका २ छक्का हाने। ओपनिङमा आएका जय किशन कोल्सावालले पनि अर्धशतक बनाएका थिए। ४३ बल खेलेका उनले ५५ रन बनाए। जसमा उनले ५ चौका २ छक्का हाने।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भइरहेको खेलमा काठमाडौंले टस जितेर ब्याटिङ रोजेको हो। ओपनिङमा आएका गौरव तमोर ६ बल खेलेर बिना रन आउट भएका थिए। अमित श्रेष्ठले १५ बलमा १७ रन बनाए। सुवोथ भाटीले ९ बलमा १४ रन बनाए।
विराटनगरका पुनित मेहराले दुई साथै नोमन खान, जितेन्द्र मुखिया र किशोर महतोले एक–एक विकेट लिए।
यसअघि काठमाडौं पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले साथै दोस्रो खेलमा बुटवल ब्लास्टरसँग सुपर ओभरमा पराजित भएको थियो। काठमाडौंले तेस्रो खेलमा धनगढीलाई १ सय ६ रनले हराएको थियो। जसमा कप्तान ज्ञानेन्द्र मल्लले शतक बनाएका थिए।
विराटनगर पहिलो खेलमा धनगढीसँग ५ रनले पराजित भएको थियो। दोस्रो खेलमा पोखरालाई ४५ रनले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।