एजेन्सी- लेबनानको नयाँ प्रधानमन्त्रीमा हसन दिआब नियुक्त भएका छन्। उनले प्रधानमन्त्रीमा नियुक्त भएपछि अन्तर्वार्ता दिँदै आफ्नो सरकारलाई यूरोप तथा अमेरिकाले पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले वासिङ्टनद्वारा आतङ्कवादी सङ्गठनको कालो सूचीमा राखेको सिया लडाकू समूह हेजबुल्लाहको सहयोगमा आफूलाई प्रधानमन्त्री बनाइएको भन्ने भनाईलाई खण्डन गर्दै आफू एक स्वतन्त्र इन्जिनियर भएको र आफ्नो सरकारका सदस्यहरू पनि स्वतन्त्र प्राबिधिक ल्याउने आफ्नो इच्छा रहेको बताए।
पूर्व शिक्षामन्त्रीसमेत भैसकेका प्रधानमन्त्री दिआबले भने, ‘मेरो लक्ष्य स्वतन्त्र प्राविधिकहरूको बनाउने र देशलाई वर्तमान आर्थिक तथा राजनीतिक सङ्कटबाट निकाश दिने रहनेछ ।’ उनी लेबनानको एक अमेरिकी विश्वविद्यालयमा लामो समय इन्जिनियरिङ अध्यापन गरेका व्यक्ति पनि हुन्।
‘लेबनानको राजनीतिक तथा आर्थिक समृद्धिका लागि मेरो काम अहिलेसम्म लेबनानले पाएभन्दा फरक किसिमको हुनेछ । सरकारमा महिला सहभागितालाई पनि प्राथमिकता दिइनेछ,’ उनले भने।
अमेरिकाबाट हेजबुल्ला समूहको समर्थनमा बनेका प्रधानमन्त्रीलाई सहयोग नमिल्ने हल्लाहरू फैलिएको तर आफूले कुनै समूहको हितभन्दा माथि देशलाई राख्ने पनि उनले बताए।
सुन्नी र सिया मुसलमानको विवादका कारण लेबनानको राजनीतिक तथा आर्थिक अवस्था दयनीय रहेको भन्दै उनले सबैलाई मिलाएर लाने पुलको भूमिका खेल्ने बताए।
लेबनानका निवर्तमान प्रधानमन्त्री साद हरिरिको राजिनामापछि उनलाई बिहीबार नयाँ प्रधानमन्त्रीका रूपमा नियुक्त गरिएको थियो ।
लेबनानमा भ्रष्टाचार र साम्प्रदायिक विवादका कारण लामो समयदेखि राजनीतिक अस्थिरता हुँदा यहाँको अर्थतन्त्रमा नराम्रो प्रभाब परेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।