सुनसरी- मंगलबारदेखि इटहरीमा नाइन्टी एमएल फुड क्याफे सञ्चालनमा आउने भएको छ।
कला र पर्यटनलाई प्रवर्द्धन गर्नेगरी व्यवसायी सुमन घिमिरे र युवा कवि रमेश सायनको संयुक्त लगानीमा इटहरीको मुख्य चौक नजिकै क्याफे खोलिएको हो।
मंगलबार १ बजे क्याफेको उद्घाटन गरिने र सोही दिन साँझ ६ बजेदेखि गायक शिव परियारले सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ। विशेष सांगीतिक कार्यक्रमको टिकट काटेर आउने सीमित दर्शकलाई शिवले क्याफेमा करिब दुई घन्टा सांगीतिक प्रस्तुति पस्किनेछन्। यसका लागि सीमित टिकट बिक्री गरिरहेको सञ्चालक सायनले बताए।
क्याफेमा खानाका पारखीहरुले आधुनिक परिकारसँगै परम्परागत स्वाद पनि चाख्न पाउने उनले जानकारी दिए।
'पिज्जा, बर्गर, स्यान्डविच, पास्तासँगै हामी परम्परागत र आदिवासी पहिचान बोकेका खानेकुरा पनि प्रवर्द्धन पनि गर्नेछौं', उनले भने, 'पूर्वाञ्चलमा लोकप्रिय भक्का पनि हामीकहाँ उपलब्ध हुनेछ।'
स्थानीय पर्यटन प्रवर्द्धन गर्ने सोच अनुरुप मोरङ, सुनसरी र पहाडी इलाकाहरुमा रहेका होमस्टेहरुसँग सहकार्य गरेर मधेसदेखि पहाडसम्मको छोटो दूरीको हाइकिङ, ट्रेकिङका प्याकेज उपलब्ध गराउने, अरुण र तमोरमा र्याफ्टिङ तथा भेडेटारको प्याराग्लाइडिङको प्याकेज व्यवस्थापन पनि गरिने उनले जानकारी दिए।
क्याफेले प्रदेश १ का प्रमुख शहरहरुमा शाखा विस्तार गर्दै जाने लक्ष्य लिएको छ।
सञ्चालकमध्येका घिमिरेले क्याफेमा कापाचिनो, मकाचिनो, अमेरिकानो लगायत विविध प्रकारका कफीको स्वाद लिन पाइने बताए।
कवि सायनले क्याफेलाई आर्ट ग्यालरीको रुपमा पनि विकास गर्ने र पेन्टिङ, फोटोग्राफी प्रदर्शनी र बिक्रीका लागि राखिने बताए। यस्तै, लेखकका चर्चित पुस्तकहरु पनि क्याफेमा बिक्रीका लागि राखिने योजना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।