काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले खेलाडीले मिहिनेत गरेर एकदिवसीय मान्यता दिलाएको बताउँदै अब यसलाई विकास गर्ने काम सरकारको भएको बताएका छन्।
जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा भाग लिएर सोमबार स्वदेश फर्किएपछि कप्तान पारसले अब सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। छनोट प्रतियोगिताको प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गरेपछि नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता पाएको थियो।
'खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरेका छन्', पारसले भने, 'अब पदाधिकारी र देशप्रति जिम्मेवारी थपिएको छ। सरकारले क्रिकेट खेललाई प्राथमितामा राखेर अघि बढ्ने बेला आएको छ।'
खड्काले नेपालले एकदिवसीय मान्यता पाउनु अहिलेसम्मकै ठूलो सफलत भएको भन्दै अबको चार वर्षभित्र राम्रो जग बनाएर क्रिकेटलाई अझै माथि पुर्याउनुपर्ने बताए।
'वर्षौंदेखिको हाम्रो सपना पूरा भएको छ। एकदिवसीय मान्यता पाएपछि अनुदानका साथै खेलाडीको जीविकोपार्जनको ग्यारेन्टी र क्रिकेटको सुविधा पाउने आधार पाएका छौं। हामीले आगामी चार वर्षमा राम्रो जग बनाएर क्रिकेटलाई अझै माथि पुर्याउनुपर्छ', उनले भने।
उनले क्रिकेट समर्थकको मायाले खेलमा ऊर्जा प्रदान गरेको समेत बताए।
'जित्दा सम्पूर्ण क्रिकेट समर्थक खुसी हुनुहुन्छ, त्यो नै हामी खेलाडीका लागि खुसीको क्षण हो। आसा गरौं, आगामी दिनमा हामीले अझ राम्रो प्रदर्शन गरेर नेपाललाई विश्वकपसम्म पुर्याकउन सकौं', खड्काले भने।
झन्डै २ वर्षदेखि नेपाल क्रिकेट संघ (क्यान) निलम्बनको अवस्थामा छ। आन्तरिक विवादका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले क्यानलाई २०७३ बैशाखमा निलम्बन गरेको थियो। त्यसपछि नेपाली क्रिकेटको व्यवस्थापन आइसिसीले हेर्दै आएको छ। त्यसैले नेपालले एकदिवसीयलाई कार्यान्वयन गर्न अझै कठिनाइ देखिन्छ।
'मैदान बाहिरको नराम्रो पक्ष सुधार्नुपर्ने मौका पाएको छौं। हामीले व्यक्तिभन्दा क्रिकेटलाई प्राथमिकता राखेर अघि बढ्नुपर्छ', खड्काले भने, 'घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार र खेलाडीको हेरचाह जस्ता व्यावसायिक कुरामा ध्यान दिनैपर्छ। किनभने एकदिवसीय मान्यता मात्र पाएका छौं, तर गर्नुपर्ने काम धेरै छन्। आसा गरौं, आगामी दिनमा राम्रो संरचना बनाएर निरन्तर एकदिवसीय टिम कायम रहन सकौं।'
अबको १२ वर्षभित्र नेपाललाई टेस्ट टिम बनाउन अहिलेदेखि नै काम थाल्नुपर्ने उनको भनाइ छ। उनले भने, '८ देखि १२ वर्षको बीचमा टेस्ट राष्ट्र बन्ने हाम्रो अर्को योजना हुनुपर्छ। त्यसको सुरुवात अहिले थाल्नुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।