काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबमाथि ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले रोमाञ्चक जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको आफ्नो दोस्रो खेलमा बीबीसीले फ्रेन्ड्स क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो। बीबीसीको जितमा जय गुरुङ र रोशन राना मगरले गोल गरे।
पहिलो हाफमा गोलरहित बराबरी खेलेको बीबीसीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न सफल भयो। खेलको १४औं मिनेटमा फिलिपे डे साउजाले प्रहार गरेको बल बीबीसीका गोलकिपर विशाल सुनारले बचाएपछि फ्रेन्ड्सले अग्रता लिनबाट चुकेको थियो। खेलको १७औं मिनेटमा विजय गुरुङले प्रहार गरेको बल फ्रेन्ड्सका गोलकिपर देव लिम्बुले उत्कृष्ट बचाउ गरे।
तुलनात्मक रुपमा फ्रेन्ड्स क्लबले भन्दा बीबीसीले एकपछि अर्को प्रहार गरेको थियो तर गोलमा परिणत हुन सकेको थिएन। तर खेलको ८७औं मिनेटमा जय गुरुङले कुनै गल्ति नै नगरी डिबक्सभित्र पाएको बल गोलमा परिणत गर्न सफल भए। खेलको अतिरिक्त समयमा रोशन राना मगरले सुन्दर गोल गर्दै फ्रेन्ड्स क्लबविरुद्ध बीबीसीलाई २–० गोलको जित दिलाए।
खेल सकिएपछि पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै फ्रेन्ड्स क्लबका ब्राजिलियन प्रशिक्षक मार्कुस डेन्टासले आफ्नो खेलाडीको प्रदर्शनबाट सन्तुष्ट नभएको बताए। ‘आज हामीले निकै खराब खेल्यौं। म सन्तुष्ट छुइन।’ उनी थप्छन्, ‘पहिलो हाफमा तुलनात्मक रुपमा हामीले राम्रो खेल्यौं तर दोस्रो हाफमा राम्रो भएन।’
यता, बीबीसीका टिम म्यानेजर अर्विन्द गुरुङले आफुहरुको योजना सफल भएको बताए। उनले भने, ‘हाम्रो लागि यो खेल निकै महत्वपूर्ण थियो। हामीले ३ अंकका लागि प्रतिस्पर्धा गरेका थियौं। त्यसमा सफल भएका छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।