काठमाडौ- राष्ट्रिय सभामा नेपाली काँग्रेसका प्रमुख सचेतक सुरेन्द्र पाण्डेले सीमा विवादका बारेमा प्रधानमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिनुपर्नेमा माग गरेका छन्।
हिउँदे अधिवेशनको पहिलो दिन राष्ट्रियसभा बैठकमा बोल्दै प्रतिपक्ष सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रबाद लुते भएको टिप्पणी गरे । ‘विगतमा धेरै ठूला राष्ट्रवादको कुरा गरिएको थियो, हिजोको कृत्रिम थियो ?’ उनले प्रश्न गरे, ‘आज किन सीमा विवादमा लुते भएको छ। किन परिणाम निकाल्न सकेको छैन। नेपालको राष्ट्रियता देखाएर भूमि फिर्ता गर्न खुटा कमाउन पाइदैन। यो सदनमा प्रधानमन्त्री आएर त्यसबारे जानकारी दिनु पर्दछ।’
उनले राष्ट्रिय गौरवका आयोजना २२ वटा भए पनि भैरहवा, पोखरा र भेरीबबईमात्र भनेर सरकारले प्रचार गरेको भन्दै आलोचना गरे।
सांसद पाण्डेले मेलम्चीप्रति पनि कटाक्ष गरे। ‘मेलम्ची खानेपानी आयोजना कुन दसैंमा आयो? मन्त्रीले त दसैंमा आउछ भनेर यही मञ्चमा भनेको हो, यही तालले हो भने अर्को दसैंमा पनि आउँदैन,’ उनले भने।
उनले उत्साहप्रद रुपमा बुढीगण्डकी सम्पन्न गर्ने भनेर पेट्रोलमा पैसा काटे पनि यसको भविष्य र मोडालिटी पनि अन्योलमा रहेको बताए। ‘मुआब्जा बाँड्ने काम गरिएको थियो, हाम्रो दबाबले अहिले सुरु भएको छ,’ उनले भने।
सांसद पाण्डेले पहिले भ्रष्टाचारमा शुन्य सहनशीलताको कुरा गरिएको भन्दै अहिले भ्रष्टाचारमा शुन्य सफलतातर्फ सरकार अघि बढेको आरोप लगाए। ‘बालुवाटार, सुनकाण्ड र वाइडवडी हुदै एनसेल लाभकर र गोकर्ण रिसोर्ट जग्गा प्रकरणमा शुन्य सहनशीलता कता गयो? ’ पाण्डेले प्रश्न गरे, ‘म्याद नै नसकिदै नेपाल ट्रष्टको जग्गा कौडीको भाउँमा थामसेर्कुलाई किन दिइयो?’
उनले सरकारले पछिल्ला दिनहरुमा निर्माण गर्न लागेको कानुनका बारेमा पनि आलोचना गरेका छन्। सरकार कम्युनिष्ठ व्यवस्था आएको भ्रममा रहेको उनको टिप्पणी थियो। ‘हिजो सहमतिका आधारमा निर्माण भएको कानुन अहिले बहुमतका आधारमा किन परिर्वतन हुँदैछन्,’ उनले भने, ‘अहिले सरकारमात्र परिर्वतन भएको हो यहाँ व्यवस्था परिर्वतन भएको छैन ।’
संविधान सहमतिमै बनेको कुरा ख्याल गर्न पनि उनले आग्रह गरे। ‘यो नेपाल कम्युनिष्ट पार्टीको सरकार हो,’ उनले भने, ‘बहुमतवाट कानुन बनाएर पेल्ने र अधिकार कुन्ठित गर्ने प्रयास भईरहेको छ, कम्युनिष्ट व्यवस्थाको झल्को दिने कानुन ल्याउने प्रयास नगरौं।’ पाण्डेले जनतामा देखिएको निरासा व्यवस्थाप्रति परिणत भयो भने राम्रो नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।