पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटको नवौं खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई ५२ रनले हराएको छ। १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले पूरा ओभर खेल्दै ८ विकेट जाँदा १ सय २९ रन बनाएको हो।
यसअघि पोखरालाई ६ विकेटले साथै बुटवललाई १ सय १९ रनले हराएको चितवनको यो लगातार तेस्रो जित हो।
यसअघि धनगढीले विराटनगरलाई ५ रनले हराएको थियो भने काठमाडौंसँग १ सय ६ रनले हारेको थियो।
धनगढीका लागि ओपनिङमा आएका रोड्रिगो थोमसले २० बलमा २४ रन बनाए। उनले २ चौका १ छक्का हाने। ओपनिङमा आएका अर्का ब्याट्सम्यान सुभेन्दु पाण्डे शून्यमै रन आउट भए। १ बल मात्र खेलेका श्रीमान्था विजयारत्ने पनि शून्यमै आउट भए।
धनगढीका कप्तान दिपेन्द्रसिंह ऐरीले ४२ बलमा ४९ रन बनाए। उनले ४ चौका २ छक्का हाने। सन्दीप रजाइली १ बलमै आउट भए। सन्दीप जोराले २१ बलमा २१ रन बनाए। उनले १ चौका र १ छक्का हाने। सौरभ खनालले ६ बलमा ३ रन हाने। कमलसिंह ऐरीले ८ बलमा ९ रन बनाए।

चितवनका लागि भुवन कार्कीले तीन, सन्नी पटेल र करण केसीले दुई–दुई विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको चितवनले पूरा ओभर खेल्दै ५ विकेट जाँदा १ सय ८१ रन बनाएको हो।
चितवनका लागि ओपनिङ ब्याटिङमा आएका रोहन मुस्तफाले १६ बल खेलेर ९ रन साथै कप्तान पारस खड्काले १५ बलमा २३ रन हाने। बाबर हयातले २८ बलमा ३६ रन, हरिशंकर शाहले ५ बलमा ८ रन, अनिल साहले २० बलमा १९ रन बनाए।
अविजित रहेका सन्नी पटेलले १७ बलमा ३२ रन साथै आरिफ शेखले २० बलमा ४७ रन बनाए। आरिफले ४ छक्का र २ चौका हाने।
धनगढीका कप्तान दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले दुई–दुई साथै अमित यादवले एक विकेट लिए।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।