काठमाडौं– संसद्को हिउँदे अधिवेशन सुरु गर्नुअघि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कार्यव्यवस्था परामर्श बैठक बोलाएकी छन्।
सभामुखले बोलाउने उक्त बैठक उपसभामुख तुम्बाहाङ्फेले सभामुखकै हैसियतमा बोलाएकी हुन्। कार्यव्यवस्था बोलाएसँगै उनले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सम्भावना बढेको छ। यही विषयमा समेत छलफल गर्न उनले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी हुन्।
उपसभामुख तुम्बाहाङ्फेले बिहीबार नै बैठक बोलाउने तयारी गरेपनि उपसभामुखलाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने अधिकारका विषयमा मत बाझिएपछि बस्न सकेको थिएन। सभामुख नभएकाे अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भएपनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ।
कार्यव्यवस्थामा उनले अध्यक्षता गर्ने विषयमा सहमति नजुटे ज्येष्ठ सदस्यले गर्नेछन्। संसद् सचिवालयको रेकर्डमा प्रतिनिधिसभामा राजपाका महेन्द्रराय यादव ज्येष्ठ सदस्य हुन्। तर, उनको नागरिकतामा उल्लेख भएको जन्ममिति गलत भएको बुझिएको छ।
उमेरअनुसार महन्थ ठाकुरले जेष्ठ सदस्य हुन्। उनले यसअघि ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिसभाका सदस्यहरुलाई शपथ गराइसकेका छन्।
संसद आज अपराह्न ४ बजे बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।