काठमाडाैं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारी जग्गा हडप्न सरकारकै मन्त्रीहरु सक्रिय रहेको विषयमा पार्टीले संसद् र सडकबाट कडा विरोध गर्नुपर्ने टिप्पणी गरेका छन्।
उनले वर्तमान कम्युनिस्ट नेतृत्वको सरकारबाट नीजि क्षेत्र पोस्ने गरी भएको निर्णय राज्य दोहन र बदमासी भएकाले याे विषयमा चुप बस्न नमिल्ने सामाजिक सञ्जालमा लेखेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले यति होल्डिङ्सलाई दिएको जग्गावारे छानबिन हुनुपर्ने माग गरेका छन्।
‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा, काठमाडौंस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संशोधन गरेर यति होल्डिङ्सलाई दिएको छ। राज्य दोहनको चरम उदाहरण हो यो,’ उनले लेखेका छन् ‘मुलुकका लागि यो भन्दा बदमासी के हुन सक्छ? यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसँग प्रश्न गर्ने समय आएको छ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकाप्रति समेत प्रश्न उठाएका छन्। फेसबुक स्टाटसमा लेख्दै काइरालाले ‘यति होल्डिङ्सलाई दिइएको जग्गा, बालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघाभन्दा बढी जग्गाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी देखिएन। यस्ता विषयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउनुपर्छ।’
नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा राजनीतिक बहश नभइरहेको समयमा कांग्रेस नेता कोइरालाले सामाजिक सञ्जाजमा सरकारको आलोचना गर्दै प्रश्न उठाएका हुन्।
![](https://nepallive.com/uploads/files/80091472_1019530848407224_639132438345285632_n(1).jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।