पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी ट्वान्टी क्रिकेटमा बुटवल ब्लास्टरले पोखरा पल्टनलाई ८ विकेटले हराएको छ। १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा २ विकेट जाँदा पूरा गरेको हो।
बुटवल ब्लास्टरले पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको थियो। बुटवल दोस्रो खेलमा चितवनसँग १ सय १९ रनले हारेको थियो।
यस्तै यसअघि पोखराले पहिलो खेलमा काठमाडौंलाई ९ विकेटले हराएको थियो। दोस्रो खेलमा चितवनसँग ६ विकेटले हारेको पोखरा तेस्रो खेलमा विराटनगरसँग ४५ रनले हारेको थियो। तेस्रो हारसँगै साविक विजेता पोखरालाई अगाडि बढ्न कठीन हुने देखिएको छ। पोखराले अब धनगढीसँग खेल्न बाँकी छ।
पोखरालाई हराउँदा बुटवलका लागि अफ्ताबउद्धिन अहमदले अर्धशतक बनाए। ४६ बल खेलेका उनले ७५ रन हानेका हुन्। उनले १२ चौका २ छक्का हाने। अफ्ताबउद्धिनसँगै ओपनिङमा आएका शंकर रानाले २३ बलमा १९ रन बनाए। भिम सार्कीले १० बलमा १६ रन साथै हर्ष टन्कले ५ बलमा ६ रन बनाए।
त्यसअघि बुटवलले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पोखराले पूरा २० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो। पोखराका लागि ओपनिङ ब्याटिङमा आएका कुशल भुर्तेल दुई बल खेलेर रन नबनाइ आउट भए। अर्का ओपनर इशान पाण्डेले १९ बल खेलेर १३ रन बनाए।

कप्तान शरद भेषावकरले १४ बलमा ७ रन बनाए। बिनोद भण्डारीले ५ बलमा ३ रन बनाए। रोहित पौडेलले १८ बलमा १९ रन बनाए। उनले एक चौका र एक छक्का हाने।
रवि इन्दर सिंहले ४२ बलमा ४५ रन बनाए। उनले २ चौका र २ छक्का हाने। प्रथमेस डाकेले २० बलमा २० रन हाने।
बुटवलका हर्ष टन्कले दुई साथै ललित भण्डारी, शिवम सिंह र नितेश थापाले एक–एक विकेट लिए।

.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।