सुर्खेत- सुर्खेतमा पहिलो पटक कर्णाली प्रिमियर लिग(केपिएल) टी–२० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। बन्धुविकास सहकारी संस्था लिमिटेड सुर्खेतको आयोजनामा प्रतियोगिता हुन लागेको हो।
आगामी वैशाख ४ देखि १५ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक बन्धुविकास सहकारीका उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक रेशम शाहीले जानकारी दिए। राष्ट्रिस्तरको प्रतियोगितामा सात वटै प्रदेशका प्रदेशस्तरीय टिमका साथै तीन वटा विभागिय टिमले सहभागिता जनाउने संयोजक शाहीले जनाए। सबै टिमसँग अहिले समन्वय भइरहेको उनले जनाए। धनगढीमा आयोजना हुने डिपिएल लगत्तै कर्णाली प्रिमियर लिग आयोजना गर्न लागिएको हो।
प्रतियोगिताको विजेताले नगद तीन लाख रुपैयाँसहित ट्रफि प्राप्त गर्नेछ भने दोस्रो हुनेले एक लाख ५० हजारसहित ट्रफि पाउने जनाइएको छ। त्यसैगरी म्यान अफ दी सिरिज हुनेले २५ हजार, उत्कृष्ट ब्याटस्म्यान र उत्कृष्ट बलरले नगद १०÷१० हजारसहित ट्रफि र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद दुई हजार पाँच सयसहित ट्रफी पाउनेछन्।
प्रतियोगिता सञ्चालन गर्न १९ लाख ८० हजार रुपैयाँ खर्च लाग्ने संयाजक शाहीले जानकारी दिए। कर्णाली प्रदेशमा क्रिकेटको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले जनाए।
‘नेपालले क्रिकेटमा उपलब्धिहरु हासिल गर्दै गइरहेको छ, अब कर्णाली प्रदेशमा पनि यसको विकास हुनुपर्छ भनेर पहिलो पटक राष्टियस्तरको प्रतियोगिता आयोजना गर्न लागेका हौं’ शाहीले भने। हरेक वर्ष आयोजना हुने प्रतियोगिताको यो पहिलो सिजन हुने उनको भनाई छ।
प्रतियोगितामा समन्वय गरिरहेको सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसी कर्णाली प्रिमियर लिगले यस क्षेत्रको क्रिकेट विकासमा ठूलो सघाउ पुग्ने बताउँछन्। उनले क्रिकेटप्रति आकर्षण बढ्दै गइरहेको अवस्थामा राष्टियस्तरको प्रतियोगिता हुँदा त्यसले यहाँका खेलाडीलाई थप उर्जा प्रदान गर्ने बताए। सबै मिलेर प्रतियोगिता सफल पार्नुपर्ने केसीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।