चितवन- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जंगल सफारीका लागि प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोस्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्रको अवलोकन गरे। निकुञ्ज अवलोकन क्रममा सँगै रहेका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले ७ वटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि देउवाले बाघ हेर्न फेरि आउने वचन दिएको बताए।
'गैँडा देखेपछि उहाँ निकै उत्साहित हुनुभयो,' ढुंगानाले भने, 'यसपालि बाघ नदेखिएकाले हेर्न फेरि आउने बताउनुभएको छ।'
देउवासँगै सांसदहरु, कांग्रेस नेता, निकुञ्ज अधिकारी र मध्यवर्तीका पदाधिकारीहरु जंगल सफारीमा संलग्न थिए। बिहान ८ बजे जिप सफारीका लागि निकुञ्ज छिरेका देउवा १०ः३० बजेमात्रै फर्किएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।