काठमाडौं- दोस्रो मनमोहन स्मृति राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता पुस १५ देखि माघ ४ गतेसम्म सुनसरीको इनरुवामा हुने भएको छ।
इनरुवा नगरपालिका, सुनसरी र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा इनरुवा रंगशालामा प्रतियोगिता हुने भएको हो। प्रतियोगितामा तीन विभागीय टोली (आर्मी, पुलिस, एपीएफ), सात प्रदेश, मलेसियाको राष्ट्रिय टिम र आयोजक गरी १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै सहभागी टिमलाई ४ समूहमा विभाजन गरी आयोजना गर्न लागिएको प्रतियोगिता निर्देशक विप्लव घोषले जानकारी गराए।
विजेताले ४ लाख ५ हजार, उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनलमा पराजित हुने टिमले समान ३० हजार नगद पुरस्कार पाउने छन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ३ हजार ५ सय नगद प्रदान गरिने छ। म्यान अफ द सिरिज हुने खेलाडीले ५५ हजार नगद पाउने छन्।
प्रतियोगिता सञ्चालन गर्न एक करोड पच्चीस लाख २ हजार ५ सय खर्च हुने आयोजकको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।