काठमाडौं- २०२० मा आयोजना हुने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अष्ट्रेलियन अलराउण्डर पट कुम्मिन्स ठूलो राशिमा कोलकत्ता नाइट राइडर्समा आबद्ध भएका छन्।
जारी आईपीएलको अक्सनबाट पट कुम्मिन्समाथि कोलकत्ताले १५ करोड ५० लाख भारु तिर्दै आफ्नो क्लबमा भित्र्याएको हो। त्यस्तै कोलकत्ताले इंग्ल्यान्डका ब्याट्सम्यान इयोन मोर्गनलाई ५ करोड २५ लाखमा भित्र्याएका छन्।
यता, अष्ट्रेलियाकै अलराउण्डर ग्लेन म्याक्श्वेल किंग्स इलाभेन पञ्जाबमा अनुबन्धित भएका छन्। पञ्जाबले म्याक्श्वेललाई १० करोड ७५ लाख भारुमा आफ्नो क्लबमा अनुबन्धित गरेको हो। पञ्जाबले वेष्ट इन्डिजका सेल्डन कोट्रेललाई ८ करोड ५० लाख भारुमा आफ्नो क्लबमा भित्र्याएको छ।
त्यस्तै, दक्षिण अफ्रिकाका अलराउण्डर क्रिस मोरिसलाई रोयल च्यालेन्जर्स बेंग्लोरले १० करोड मुल्यमा आफ्नो क्लबमा भित्र्याउँदा अष्ट्रेलियाका कप्तान आरोन फिन्चलाई भने ४ करोड ४० लाख भारुमा किनेको छ।
मुम्बई इन्डियन्सले भने अष्ट्रेलियाका फाष्ट बलर नाथन काउल्टर नाइललाई ८ करोड र अष्ट्रेलियाकै ब्याट्सम्यान क्रिस लिनलाई २ करोड मुल्य तिरेको छ।
यता, दिल्ली क्यापिटल्सले भने अष्ट्रेलियाका विकेटकिपर एलेक्स क्यारीलाई २ करोड ४० लाखमा भित्र्याउँदा इंग्ल्यान्डका जासन रोय र क्रिस वेयक्सलाई समान १ करोड ५० लाख मुल्यमा आबद्ध गराएको छ। त्यस्तै, चेन्नाई सुपर किंग्सले साम कुरानलाई ५ करोड ५० लाखमा अनुबन्धित गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।