म्याग्दी- म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान सञ्चालन गरिएको छ। स्थापनाको ५०औं वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीले विद्यालय भवन पुनः निर्माणका लागि आर्थिक संकलन गर्न थालेका हुन्। आगामी बैसाख १ र २ गते बेगमा बृहत् समारोहबीच स्वर्ण जयन्ती मनाउन लागिएको हो।
प्रवासमा रहेका बेगखोलावासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान सञ्चालन गरिएको मूल समारोह समितिका सचिव नक्कु (नगेन्द्र) पुर्जाले बताए। उनका अनुसार अहिलेसम्म बेलायत, हङकङ, कोरिया, जापान, पोर्चुगल, कतार लगायतका मुलुकमा रहेका बेगखोलावासीबाट करिब रु ५० लाख आर्थिक संकलन भइसकेको छ। बेलायतमा रु ३० लाखभन्दा बढी र हङकङमा रु १२ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको विद्यालयका पूर्वविद्यार्थी समेत रहेका सचिव पुर्जाले जानकारी दिए।
अभियानका क्रममा विभिन्न मुलुक र क्षेत्रमा रहेका बेगखोलावासीबाट रु एक करोड ५० लाख संकलन गर्ने र तीन वर्षको अवधिमा विद्यालयको पुनःनिर्माण गर्ने योजना रहेको अभियन्ताको भनाइ छ। तत्कालीन अवस्थामा रूखको बोटमुनिबाट पठनपाठन सुरु भएको विद्यालयलाई २०२५ सालदेखि सरकारले कक्षा ७ सम्म पठनपाठन हुने गरी निमाविको मान्यता दिएको थियो। यस विद्यालयबाट २०५७ सालमा पहिलो पटक एसएलसी परीक्षामा विद्यार्थी सामेल भएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।