बेँसीसहर- लमजुङको एक बालगृहमा रु ४० लाखभन्दा बढी रकम सहयोग जुटेको छ। बेँसीसहरस्थित आदर्श महिला तथा बालविकास केन्द्रद्वारा सञ्चालित बालगृहमा अक्षयकोष स्थापनार्थ सो सहयोग प्राप्त भएको हो।
संस्थाकी अध्यक्षसमेत रहेकी बेँसीसहरकी सानुमाया गुरुङले रु ४० लाख ११ हजार १११ दान गरेकी हुन्। संस्थापक अध्यक्ष स्व लेखनाथ अधिकारीको पाँचौं स्मृति दिवसको अवसरमा आइतबार उनले सो रकम प्रदान गरेकी हुन्।
गुरुङले आफूले पाएको पुर्ख्यौली पेवा बिक्री गरी बालगृहमा दान गरेको बताइन्। 'अभिभावक नभएका कुनै पनि बालबालिका बाल अधिकारबाट वञ्चित नहोऊन्,' गुरुङले भनिन्, 'उनीहरुको पालनपोषण र शिक्षादीक्षामा बालगृहले सहयोग गर्नुपर्छ।'
गुरुङसँगै स्थायी घर गिलुङ भई हाल पोखरा बस्ने राधादेवी घलेले रु १० हजार एक सय, बेँसीसहर–८ निवासी पार्वती श्रेष्ठले स्वर्गीय श्रीमान् नन्दमान श्रेष्ठको सम्झनामा रु १० हजार १११ र हाल पोखरी बस्ने उस्ताकी वर्तामाया घलेले रु १० हजार एक सय सहयोग प्रदान गरिन्। २०६० सालबाट सञ्चालन गरिएको उक्त बालगृह हाल मुट्ठीदानबाट सञ्चालनमा रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।