काठमाडौ- भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले नेपाल र भुटानसँगको खुला सीमाको फाइदा उठाएर भारतमा अस्थिरता निम्त्याउने प्रयास भइरहेको दाबी गरेका छन्।
केही गलत तत्वहरु खुल्ला सीमाबाट प्रवेश गरेको र उनीहरुले देशको हितमा जारी भएको नागरिकता संशोधन विधेयकमा अस्थिरता मच्चाउने प्रयास गरिरहेको उनको दाबी छ।
बिहीबार दिल्लीमा आयोजित सशस्त्र सीमा बलको ५६ औं स्थापना दिवसको अवसरमा शाहले त्यस्तो बताएका हुन्। केही समय पहिले उनले बंगलादेशका अल्पसंख्यक हिन्दुहरु भारतमा शरणार्थीको रुपमा बसेकाले नागरिकता विधेयक ल्याउनु परेको दाबी गरेका थिए। उनको उक्त दाबीपछि बंगलादेशले आपत्ति जनाउँदै त्यस्ता मानिसको विवरण उपलव्ध गराउन चेतावनी दिएको थियो। लगत्तै उनले दुई छिमेकी देश नेपाल र भुटानलाई निसाना साधेका हुन्।
‘भारत र नेपाल तथा भारत र भुटानबीच करिब २४५० किमि लामो खुला सीमाको सुरक्षाको जिम्मा एसएसबीको छ, नेपाल र भुटान भारतको मित्र राष्ट्र हुन् ’ उनले भने ‘तर, यही खुला सीमाबाट भारतमा शान्ति नचाहने तत्व र देशहरुले प्रवेश गर्ने प्रयास गरिरहेका छन्। ’




छिमेकी देशबाट भारतलाई अरु कुनै खतरा नभएको उल्लेख गर्दै उनले भने, ‘विश्वभरि नै जसरी अहिले आवागमन सरल भएको र दूरीका हिसाबले नजिक भएको छ त्यही कुराको फाइदा उनीहरुले उठाउने प्रयास गरे ।’
नरेन्द्र मोदी सरकारले हालै जारी गरेको नागरिकता विधेयकको विरोधमा देशभर प्रदर्शन उग्र हुँदै गएको छ। जनता सडकमा आएपछि सरकारले फोन, इन्टरनेट बन्द गर्ने देखि मेट्रो बन्द गर्नेसम्मका काम गरिरहेको छ। उत्तर प्रदेशमा राज्य सरकारले धारा १४४ जारी गर्दै मानिसहलाई भेला हुन रोक लगाएको छ।
साथै शाहले यी सीमाबाट लागूपदार्थ लगायतका अन्य गैरकानुनी वस्तुको तस्करी पनि भइरहेको दाबी समेत गरे।
उनले पछिल्लो एक वर्षमा ३८० करोड मूल्यको प्रतिबन्धित बस्तु एसएसबीले जफत गरेको र त्यसमध्ये १६७ करोड भन्दाबढीको लागूपदार्थ रहेको समेत बताए। सीमामा गलत तत्वहरुको घुसपैठलाई रोकेर पनि एसएसबीले प्रशंसनीय काम गरेको समेत उनले जिकिर गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।