बाजुरा- सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नहर भत्किएको तीन दिनपछि सदरमुकामवासीले बत्ती बाल्न पाएका छन्। तीन दिनदेखि अँध्यारोमा बसेका सदरमुकामवासीले आइतबार बेलुकी ६ बजेबाट बत्ती बाल्न पाएका हुन्।
बडीमालिका नगरपालिकाले निर्माण गर्न लागेको खानेपानीको ट्यांकी नजिकै रहेको विद्युत्को नरह भत्किएपछि जिल्लावासी मैनबत्तीको भरमा बस्दै आएका थिए। २०४२ सालमा निर्माण भएको उक्त विद्युत् पटकपटक विद्युत् मेसिनमा खराबी आउने गरेको छ। विद्युत्का लागि बनाइएको नहरसमेत जीर्ण बन्दै गएका कारण ग्राहकले पटकपटक अँध्यारोमा बस्नुपरेको साना जलविद्युत् केन्द्रका कार्यालय प्रमुख दयाराम पण्डितले स्वीकार गरे।
विद्युत्को नहर भत्किएपछि पुनः निर्माण कार्य भई आइतबार बेलुकीदेखि बत्ती सञ्चालन गरिएको पण्डितले बताए। तीन दिनदेखि विद्युत् नहुँदा जिल्लाका दर्जनभन्दा बढी सरकारी तथा गैरसरकारी कार्यालयको कामकाज ठप्प भएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।