काठमाडौं- नेकपाको जारी स्थायी समिति बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल सरकार बचाउमा उत्रेका छन्।
उनले सरकारले अहिलेसम्मकै उत्कृष्ट काम गरिहेको दाबी गर्दै २०५१ सालको मनमोहन सरकारसँग तुलना गरेका छन्।
५१ सालदेखि नै हाम्रो आनीबानी सरकार नढलेसम्म ‘सरकारले राम्रो काम गर्यो’ भन्न नसक्ने खालको छ।
मरेपछि नेता महान हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौ’
रिमालले प्रतिवेदनमा लेखेका छन् ‘एउटा नमज्जा लागेको कुरा - कहिले पार्टीमा सल्लाह नगरेको आरोप त कहिले‚ पार्टी कमिटीलाई ‘किन साक्षी बसेको’ भन्ने कुरा कति सुहाँउदो टिप्पणी हो? त्यो पनि वरिष्ठ कमरेडहरुबाट? यो त सिधै प्रधानमन्त्रीप्रतिको पूर्वाग्रह भएन र?’
सरकारले जनताको पक्षमा काम गरेको कुरा केन्द्रीय समिति बैठकमा बोल्ने नेताहरुले भनेको भन्दै उनले केन्द्रको काम भइ नै रहेको तर जनतासँग जोडिएका आम विषय तथा स्थानीय विकास निर्माण स्थानीय तह र प्रदेशको कार्यक्षेत्रमा परेकोतर्फ ख्याल गर्न पनि आग्रह गरे।
‘सरकारको कामको सन्दर्भमा मन्त्री कमरेडहरुले नै भन्नु होला, कार्यसम्पादन संझौता प्रभावकारिताको आधार हो, सबै विभिन्न मुलुकमा प्रयोगमा छ‚’ रिमालले भने‚ ‘कम्युनिस्ट, गैर कम्युनिस्ट, राजतन्त्रात्मक मुलुकमा समेत यस्ता विषयमा टिप्पणी हल्का होला कि?’
सार्वजनिकरुपमा हुने गरेको आक्रमण नेकपाप्रति भएको भन्दै अमूक नेताहरुप्रति हो भनी नवुझ्न पनि उनले आग्रह गरे।
‘हिजो प्रधानमन्त्रीप्रति सोझिएका आक्रमण आज अर्का अध्यक्ष र सचिवालयका नेताहरुप्रति पनि सोझिएको छ‚’ उनले लेखेका छन्‚ ‘सरकार असफल हुँदा एक प्रधानमन्त्री र केही मन्त्रीमात्रै असफल हुने हैन। त्यसले पछिल्ला उत्तराधिकारीहरुलाई पनि पिर्छ। असफलताको जगमा कहाँ नयाँ सफल महल उभिएला र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।