पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा चितवन राइनोजले बुटवल ब्लास्टरलाई १ सय १९ रनले हराएको छ। २ सय ४ रनको लक्ष्य पछ्याएको बुटवल १८.४ ओभरमा ८४ रनमा अलआउट भएको हो।
बुटवलको ओपनिङ ब्याटिङमा आएका अफ्ताबुद्धिन अहमदले ५ बलमा २ रन साथै शंकर रानाले १० बलमा ५ रन मात्रै बनाए।
तेस्रो क्रममा ब्याटिङमा आएका हर्ष टन्कले २ बलमा १ रन, शिवम सिंहले ३३ बलमा ३३ रन, भिम सार्कीले २१ बलमा २१ रन, सोमपाल कामीले ८ बलमा ३ रन, शेर मल्लले ७ बलमा २ रन बनाए। अभिनाश बोहरा शून्यमै आउट भए। हरि चौहानले २० बलमा १२ रन बनाए।
चितवनका लागि करण केसीले ४ विकेट लिए। ३.४ ओभर बलिङ गरेका उनले ११ रन मात्रै खर्चिए। रोहन मुस्तफाले दुई विकेट लिए। यस्तै सन्नी पटेल, भुवन कार्की, बिक्रम शोब र बिक्रम भुसालले एक–एक विकेट लिए।
यसअघि बुटवल ब्लास्टरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरा २० ओभर खेल्दै ३ विकेट जाँदा २ सय ३ रन बनाएको हो। दोस्रो पिपिएल चलिरहँदा यो अलिहेसम्मकै सर्वाधिक रन पनि हो। यसअघि गएको सिजनको पहिलो खेलमा पोखराले विराटनगरविरुद्ध १ सय ९७ रन बनाएको थियो।
चितवनका लागि कप्तान पारस खड्का र रोहन मुस्ताफाले अर्धशतक बनाए। मुस्तफाले ५६ बलमा ७० रन बनाए। अविजित रहेका उनले ७ चौका २ छक्का हाने। २ बल खेलेका सन्नी पटेल ४ रनमा अविजित रहे।
पारसले ४० बलमा ६३ रन बनाए। उनी अफ्ताबुद्धिन अहमदको बलमा क्याच आउट भएका थिए। त्यसअघि उनले ६ चौका र २ छक्का हाने।
पारस आउट भएपछि आएका बाबर हयातले ५ बलमा १ रन मात्रै बनाए। उनी अफ्ताबुद्धिनकै बलमा बोल्डआउट भएका थिए। आरिफ शेखले १९ बलमा ४० रन बनाए। उनले ३ चौका ३ छक्का हाने।
बुटवलका अफ्ताबुद्धिन अहमदले दुई साथै अभिनाश बोहराले एक विकेट लिए।
बुटवलले यसअघिको खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको थियो। यसअघि एक खेल खेलेको चितवनले पोखरालाई ६ विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।