काठमाडौं- संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरु हुन एक दिनमात्रै बाँकी छ। तर अन्यौल कायमै छ।
मुख्यतय अधिवेशनको सुरुवात कसरी र कसले गर्ने भन्ने विषयमा फरक मत देखिएका छन्। त्यस्तै, पहिलो कार्यसूचीमा रहेको सभामुख निर्वाचनसँग जोडिएका विविध विषयमा तर्क–वितर्क भइरहेका छन्।
तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा मुछिएदेखि सुरु भएको नयाँ सभामुखको बहस हिउँदे अधिवेशन सुरु हुने संघारमा पनि निर्क्यौलमा पुगेको छैन। तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा छन्। सभामुख चयनका केही विकल्पमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व तहमा छलफल चलेको छ।
विकल्प एक, अनुहार तीन
सत्तारुढ दल नेकपा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको नयाँ रुप हो। दुई दल एक बन्दा केही सौदाबाजी भएका थिए। त्यसमध्ये एउटा सभामुख पद हो। जुन शक्ति सन्तुलन मिलाउने क्रममा तत्कालीन माओवादीका भागमा परेको थियो।
त्यसैले नयाँ सभामुख चयन पूर्वमाओवादी नेताहरूमध्येबाटै हुनुपर्ने दबाब नेकपामा तीव्र छ। पार्टी एक हुनुअघिको भागबन्डाअनुसार सभामुख पद नछाड्न पूर्व माओवादी नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिइरहेका छन्।
पूर्व माओवादीका प्रभावशाली नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादवलले प्रचण्डसँग भेटेर यसबारे आफ्नो मत राखिसकेका छन्।
प्रचण्डसँग भेटेर सभामुख नछाड्न लबिङ गर्नेमध्ये तीन नेता अग्नि सापकोटा, देव गुरुङ र पम्फा भूसाल स्वयं सभामुखका आकांक्षी पनि हुन्।
पार्टी एकता भए पनि अझै संगठनात्मक एकताको कामले पूर्णता नपाइसकेकाले आगामी महाधिवेशनसम्म तत्कालीन पार्टीबीच भएको भागबन्डा यथावत् राख्न उनीहरुले सुझाएका छन्। उनीहरुको सुझाव कार्यान्वयन भयो भने सापकोटा, गुरुङ र भूसालमध्ये एक सभामुखका रुपमा देखिनेछन्।
ओलीको ईच्छा, अनुहार चिरपरिचित
नेकपा नेता सुवासचन्द्र नेम्वाङ सभामुखका पर्यायवाचीजस्तै हुन्। धेरैले सभामुख भन्नेबित्तिकै तत्कालीन संविधानसभा अध्यक्ष नेम्वाङकै अनुहारसमेत सम्झिन्छन्। सभामुख पद रिक्त भइसकेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले उनलाई सभामुख बनाउन चाहेका छन्। नेम्वाङ आफैंले पनि उक्त पदका लागि तीव्र चाहना व्यक्त नगर्ने तर प्राप्त हुने अवस्थामा पछि नहट्ने ‘लाइन’ नेकपा नेतृत्वसमक्ष पुर्याएका छन्। यसका लागि नेताहरुले उनको ‘तीव्र चाहना’कै रुपमा बुझेका छन्। त्यसैले पूर्व एमालेले पाउने अवस्थामा उनी सभामुखका लागि सवैभन्दा शक्तिशाली उम्मेदवार हुन्।
सकेसम्म आफ्नो चाहनाअनुसारको सभामुख आइदेओस् भन्ने चाहना प्रधानमन्त्री ओलीको छ। गत अधिवेशनमा प्रधानमन्त्री ओलीको प्रतिपक्षसँग रस्साकस्सी हुँदा सभामुखले सहयोग नगरेको उनलाई लागेको छ। उनको चाहनाविपरीत केही शब्द संसदको रेकर्डबाट हटेको विषयमा समेत चित्त दुखाइ छ। प्रतिपक्षले सरकारलाई अप्ठ्यारो पार्न खोज्दा सकारात्मक भूमिका तत्कालीन सभामुखले खेल्न नसकेका कारण आफूअनुकूल व्यक्तिलाई उक्त पदमा आसिन गराउने उनको चाहना हो।
लबिइङ तुम्बाहाम्फेको, सजिलो पम्फालाई
प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बन्ने स्वभाविक लबिइङमा छन्। उनले उपसभामुखका रुपमा अनुभव हासिल गरिसकेकाले सभामुख भएर सदन हाँक्न सक्ने आँट रहेको बताउँदै आएकी छिन्। यहीकारण केही समयअघि भएको मन्त्रीमण्डल पुनर्गठनमा मन्त्री बन्ने प्रस्ताव आउँदा उनले अस्वीकार गरिन्।
नेकपाका अध्यक्षद्वय उनलाई सभामुख बनाउनेमा सकारात्मक देखिँदैनन्। तर, राष्ट्रपति विद्यादेवी भण्डारीको उनीप्रति शुभेच्छा छ। जोडतोडको लबिइङ गर्ने अवस्थामा भने राष्ट्रपति देखिन्नन्। पछिल्लो समय पार्टीमा अनावश्यक शक्ति प्रयोग गरेको भन्दै उनी विवादमा समेत परेकी छिन्।
नेकपाका उच्च तहका एक नेताका अनुसार आफूले दबाब दिँदा गलत सन्देश जाने भएकाले तुम्बाहाम्फेलाई मन्त्रीमा चित्त बुझाउन भनिसकेकी छिन्।
सभामुखले गल्ती गर्दा आफूले पद गुमाउन नहुने उनको तर्क छ। उक्त पद गुमाउनु पर्दा स्वभाविक रुपमै सभामुखको उम्मेदवार आफू हुनुपर्ने उनको दाबी छ। महिलालाई पार्टीमा न्युन स्थान दिइने गरेको भन्दै आलोचना भइरहेको छ। उक्त भावनालाई समेत उपसभामुख तुम्बाहाम्फेले आफ्नो लबिइङको हतियार बनाएकी छिन्।
एक नेताका अनुसार महिलालाई अन्याय गर्न नहुने भनेर उनी र उनलाई चाहनेहरुले गरेको लबिइङको लाभ भने नेकपा नेतृ पम्फा भुसाललाई हुनसक्ने देखिएको छ। महिलालाई नै सभामुख बनाउनुपर्ने अवस्थामा पम्फा भूसाललाई अघि सार्नुपर्ने सुझाव पूर्व एमालेकै केही नेताहरुले दिएका छन्। यसो गर्दा भावनाको पनि कदर हुने र भागबण्डामा समेत असर नपर्ने तर्क उनीहरुले प्रधानमन्त्री ओलीसमक्ष पेश गरेका छन्।
तुम्बाहाम्फेलाई सभामुख बनाउने विषयमा पूर्व एमालेका नेताहरु नै सहमत छैनन्। समानुपातिक सांसद रहेकोदेखि पार्टीमा खटनका हिसाबले अवसर दिनुपर्ने अन्य नेताहरु थुप्रै रहेको तर्क तुम्बाहाम्फेलाई नरुचाउने समूहले अघि सारिरहेका छन्।
शक्ति सन्तुलनको अर्को विकल्प, राष्ट्रियसभा
सभामुख पूर्व एमालेले नै प्राप्त गर्ने अवस्थामा राष्ट्रियसभाको अध्यक्ष पूर्व माओवादीलाई दिइनुपर्ने कोणबाट पनि लबिइङ भइरहेको छ। नेकपा नेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउनुपर्ने सहमतिमा राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिने विषयमा प्रधानमन्त्री ओली सहमत नै छन्।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई उपप्रधान मन्त्रीसहितको कुनै मन्त्रालयको जिम्मेवारी दिएर व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको एक नेताले बताए। अध्यक्ष तिमिल्सिनालाई बोलाएर प्रधानमन्त्री ओलीले ‘सभामुखको विषय कसरी टुंग्याउने?’ भनेर उनीसँग छलफल गरिसकेको बुझिएको छ। तर, राजीनामा गर्नुपर्ने नबताए पनि त्यसको संकेतका रुपमा उक्त भेटलाई हेरिएको छ।
उपसभामुख जनमोर्चा कि राजपा?
संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था छ। नेकपाले उपसभामुख यथास्थितिमा राखेर सभामुख पद गुमाउन कुनै हालतमा चाहँदैन। त्यसैले वर्तमान उपसभामुखलाई निर्वाचन प्रक्रिया सुरु हुनुअघि राजीनामा गराउने तयारी गरिसकेको छ।
नेकपाले सभामुख रोज्दा उपसभामुख प्राप्त गर्ने सम्भावना यसअघि राष्ट्रिय जनमोर्चाको थियो। चुनावी तालमेलका कारण पनि उक्त पार्टीकी सांसद दुर्गा पौडेले बलियो उम्मेदवार मानिएकी थिइन्। नेकपाका एक नेताका अनुसार बिहीबारको सहमतिपछि राजनीतिक कोर्ष परिवर्तन भएको छ। उपसभामुख राष्ट्रिय जनता पार्टीले प्राप्त गर्ने सम्भावना बढेको छ। सत्ता साझेदार समाजवादी पार्टी नेपालसँग बढ्दो दूरीले राष्ट्रियसभामा निर्वाचनका लागि राजपासँग तालमेल गरेको छ। प्रदेश २ को राजनीतिक समीकरणसमेत परिवर्तन गर्ने गरी यो सहमति देखिएको लख काट्न थालिएको छ।
राजपालाई उपसभामुख दिएर प्रदेश २ को सत्तासमीकरण परिवर्तन गर्ने खेलमा नेकपा रहेको आशंका समाजवादी पार्टीका नेताहरुले समेत गर्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।