पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा बुटवल ब्लास्टरविरुद्धको खेलमा चितवन राइनोजले २ सय ४ रनको लक्ष्य दिएको छ।
बुटवल ब्लास्टरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको चितवनले पूरा २० ओभर खेल्दै ३ विकेट जाँदा २ सय ३ रन बनाएको हो। दोस्रो पिपिएल चलिरहँदा यो अलिहेसम्मकै सर्वाधिक रन पनि हो। यसअघि गएको सिजनको पहिलो खेलमा पोखराले विराटनगरविरुद्ध १ सय ९७ रन बनाएको थियो।
चितवनका लागि कप्तान पारस खड्का र रोहन मुस्ताफाले अर्धशतक बनाए। मुस्तफाले ५६ बलमा ७० रन बनाए। अविजित रहेका उनले ७ चौका २ छक्का हाने। २ बल खेलेका सन्नी पटेल ४ रनमा अविजित रहे।
पारसले ४० बलमा ६३ रन बनाए। उनी अफ्ताबुद्धिन अहमदको बलमा क्याच आउट भएका थिए। त्यसअघि उनले ६ चौका र २ छक्का हाने।
पारस आउट भएपछि आएका बाबर हयातले ५ बलमा १ रन मात्रै बनाए। उनी अफ्ताबुद्धिनकै बलमा बोल्डआउट भएका थिए। आरिफ शेखले १९ बलमा ४० रन बनाए। उनले ३ चौका ३ छक्का हाने।
बुटवलका अफ्ताबुद्धिन अहमदले दुई साथै अभिनाश बोहराले एक विकेट लिए।
बुटवलले यसअघिको खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको थियो। साथै यसअघि एक खेल खेलेको चितवनले पोखरालाई ६ विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।