काठमाडौं- वेष्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेट खेलमा भारतले जित हात पारेको छ।
बुधबार राति भएको खेलमा घरेलु टोली भारतले वेष्ट इन्डिजलाई १०७ रनले पराजित गरेको हो। ३८८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको वेष्ट इन्डिजले ४३.३ ओभरमा सबै विकेटको क्षतिमा २८० रन मात्रै बनाउन सफल भयो।
वेष्ट इन्डिजका लागि साई होपले ७८ रन बनाउँदा निकोलस पुरनले ७५, किमो पाउलले ४६ र इभिन लेविसले ३१ रन बनाए पनि भारतविरुद्धको हार टार्न सकेन्।
बलिङतर्फ भारतका मोहम्मद सामी र कुलदीप यादवले समान ३–३ विकेट लिए। त्यस्तै, रविन्द्र जडेजाको नाममा २ विकेट रह्यो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले उत्कृष्ट सुरुवात गर्दै ५० ओभरमा ५ विकेटको क्षतिमा ३८७ रन बनाउन सफल भयो। भारतका लागि रोहित शर्मा र केएल राहुलले राम्रो साझेदारी गरे। पहिलो विकेटका लागि रोहित र राहुलले २२७ रनको साझेदारी गरेका थिए। रोहितले १३८ बलमा १७ चौका र ५ छक्काको मद्दतमा १५९ रन बनाउँदा केएल राहुलले १०२ रन बनाए। त्यस्तै, श्रेयस ऐयरले ५३ र रिषव पन्तले ३९ रन बनाए।
यो जितसँगै भारतले ३ खेलको एकदिवसीय सिरिज १–१ को बराबरी बनाएको छ। यसअघि भएको पहिलो एकदिवसीय खेलमा वेष्ट इन्डिजले भारतलाई ८ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।