काठमाडौं- स्पेनिस ला लिगा फुटबलमा एल क्लासिको बराबरीमा रोकिएका छन्।
बुधबार राति नाउ क्याम्पमा भएको खेलमा घरेलु टोली बार्सिलोनाले रियल मड्रिडसँग गोलरहित बराबरी खेलको हो।
दुबै टिमले गोल गर्ने राम्रो अवसर गुमाउँदा अग्रता बनाउन चुकेका हुन्। खेलमा रियलले बार्सिलोनाको पोष्टमा १७ पटक प्रहार गरेको थियो। तर गोलमा परिणत हुन सकेन। ५२ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखे पनि बार्सिलोनाले रियलको पोष्टमा ९ पटक मात्रै प्रहार गरेको थियो।
बार्सिलोना र रियल मड्रिडबीचको खेल अक्टोबर २६ मा हुने मिति तय थियो। तर क्याटलोनियामा भएको राजनीतिक प्रदर्शनलाई मध्यनजर गर्दै खेल सारिएको थियो। सुरक्षाका कारण दुबै टिमलाई एउटै होटलमा राखिएको थियो।
डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले रियलसँग बराबरी खेल्दै अंक बाँडे पनि शीर्ष स्थानमा कायमै छ। समान १७ खेल खेलेका बार्सिलोना र रियल मड्रिडको समान ३६–३६ अंक छ। तर गोलको आधारमा बार्सिलोना शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रियल छ।
त्यस्तै ला लिगाको तेस्रो स्थानमा सेभिया रहेको छ। उसको १७ खेलबाट ३१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।