एजेन्सी- अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध दर्ता भएकाे महाअभियोगको पक्षमा बहुमत सदस्यले मत हालेका छन् । तल्लो सदनमा विपक्षीको बहुमत भएकाले यो प्रस्ताव पास हुने निश्चित थियो । तल्लाे सदनबाट पास भएपनि ट्रम्प पदबाट अहिले नै निलम्बन भने हुने छैनन । यो प्रस्ताव दुई तिहाइले माथिल्लो सदनबाट पनि पास हुनु पर्ने ब्यवस्था रहेकाे छ । माथिल्लो सदनमा भने ट्रम्प पक्षधर रिपब्लिकनको बहुमत रहेकाले सहजै पास हुने देखिदैन ।
माथिल्लाे सदनमा यस सम्बन्धि प्रक्रिया आउँदो जनवरीमा मात्रै सुरु हुने छ । ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया संसदमा चलिरहेको बेलामा ट्रम्पले सभामुख नान्सी पेलोसीलाई मंगलबार एउटा पत्र पठाएका थिए । आफूले डेमोक्र्याट्स पार्टीका तर्फबाट अघि बढाइएको महाअभियोगको कडा रुपमा विरोध गर्ने जनाउँदै उनले यो महाअभियोग अमेरिकाको अढाइ दशक यताको इतिहासमा डेमोक्रयाट्स सांसदबाट अप्रत्याशित र असंवैधानिक रुपमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका छन् ।
उनले महाअभियोग जस्तो खराब विषयलाई सस्तो बनाउने काम सभामुखले गरेको समेत आरोप लगाए । उनले महाअभियोगको प्रक्रिया अघि बढाएर सभामुखले आफूले लिएको शपथको पनि उल्लंघन गरेको र सभामुखले अमेरिकाको लोकतन्त्रमाथि युद्धको घोषणा गरेको समेत राष्ट्रपतिले आरोप लगाएका छन् ।
ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा १९७ मत परेको थियो ।
६ पृष्ठ लामो उनको पत्रबारेमा टिप्पणी गर्दै सभामुख पेलोसीले आफूले पुरै पत्र पढी नसकेको बताएकी थिइन् । ट्रम्पले डेमोक्र्याट्स नेता जो बाइडेनलाई छानबिन गर्न युक्रेनका प्रधानमन्त्रीलाई आग्रह गरेको विषयलाई लिएर महाअभियोग प्रक्रिया अघि बढेको हो । ट्रम्पलाई आफ्नो बयान दिन आग्रह गरिएपनि उनले यो प्रक्रियालाई छल्दै आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।