काबुल- अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी ८० लडाकू मारिएका छन्।
देशको पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
अफगानिस्तानको पूर्वी भागमा रहको घाज्नी प्रान्तमा बुधबार बिहान ११ जना मारिएका छन् भने अरु ६ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता अरेफ नुरीले जानकारी दिए।
उनका अनुसार सो घटनामा परी सुरक्षाकर्मीतर्फ भने दुईजना घाइते भएका छन्। त्यसैगरी विशेष सुरक्षा इकाइले तालिवान लडाकूहरुविरुद्ध घोर प्रान्तको डावलात यार जिल्लाको समाक जिल्लामा पनि सुरक्षा कारबाही चलाएको छ।
लडाकूहरुको आश्रयस्थलमा मङ्गलबार आक्रमण भएको र घटनामा परी कम्तीमा ५३ जनाको मृत्यु भएको विशेष सुरक्षा इकाइका प्रवक्ता अब्दुल घाफार नुरिस्तानीले जानकारी दिए।
कान्दाहार प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी २५ भन्दा बढी लडाकू मारिएका सुरक्षा स्रोतले जानकारी दिएको छ। कान्दाहार प्रान्तको शाह बालीकोट जिल्लामा भएको कारबाहीमा ती लडाकू मारिएका सैन्य अधिकारीद्वारा बुधबार जारी वक्तव्यमा जनाइएको छ।
जारी वक्तव्यमा लडाकूविरुद्धको खोजी तथा कारबाही अभियान जारी रहेको र केही लडाकूहरु घाइते भएको थप जानकारी दिइएको छ।
सुरक्षाकर्मीतर्फ भएको क्षतिका बारेमा भने वक्तव्यमा केही पनि उल्लेख गरिएको छैन। कान्दहर प्रान्तमा तालिबान लडाकूहरु सक्रिय रहेका छन्। तर उनीहरुको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया भने नआएको समाचारमा जनाइएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।