खोटाङ– सोह्र वर्षीय तेजकुमार राई प्रथम खोटाङ आइडल बनेका छन्।
गएराति दिक्तेलमा सम्पन्न फाइनलमा आफ्ना चार प्रतिस्पर्धीलाई उछिन्दै राई प्रथम आइडल बनेका हुन्। आइडल बनेसँगै उनले नगद ५४ हजार ५ सय ७४ रुपैयाँको साथमा मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन्।
पुरस्कार हात पार्नुका साथै राईलाई ६ महिना संगीत विद्यालय अध्ययनको अवसर र एउटा गीत रेकर्डको व्यवस्थासमेत गरिने कार्यक्रम संयोजक जीवनकुमार राईले बताए।
विजेता राईलाई दिक्तेलस्थित इटिसी मोबाइल सेन्टरले २१ हजार मूल्य बराबरको मोटोरोला मोबाइल प्रदान गरेको छ। दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा छात्रवृत्तिमा कक्षा ९ मा अध्ययनरत राई केपिलासगढी गाउँपालिका–५, सप्तेश्वरका स्थायी बासिन्दा हुन्।
‘कला र गलाको सम्मान नयाँ प्रतिभाको खोजी हाम्रो अभियान’ भन्ने नाराका साथमा आयोजित आइडलमा रोहित राई दोस्रो, अमिता राई तेस्रो, सुमन राई चौथो र दीपा राई पाँचौँ भएका छन्।
प्रतियोगितामा दोस्रो हुनेले नगद २४ हजार ५ सय ७४ का साथमा तीन महिना संगीत अध्ययन र एउटा गीत रेकर्ड तथा तेस्रो हुने प्रतिभालाई नगद १० हजार ५ सय ७४ का साथमा एक महिना संगीत अध्ययन र एउटा गीत रेकर्डको अवसर प्रदान गरिने आयोजक समितिले जनाएको छ।
दिक्तेलस्थित सरस्वती माविको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा गायक तथा संगीतकार कन्काईष्ट राई, गायिका सरला राई, गायक आशिष ताम्राकार र संगीतकार भिमसेना राईले निर्णायकको भूमिका थिए।
तुवाचुङ नगरपालिका–११ स्थित परिवर्तन नेपाल हलेसी राजापानीद्वारा आयोजित प्रतियोगितामा जिल्लाका ५ सय ५० जनाले भाग लिएका थिए। प्रतियोगिता मंसिर २३ गतेबाट शुरु थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।