काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बुधबार बाेलाइएकाे बैठक पनि बस्ने/नबस्ने अनिश्चित छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै बैठक बोलाएकाले केन्द्रीय समितिको बैठक प्रभावित हुने देखिएको छ। पौडेलले बैठकका लागि आफ्नो समूहका नेताहरुलाई आफ्नै निवास बोहराटारमा बोलाएका छन्।
पौडेलले बैठकका लागि तेस्राे समूहका नेता कृष्णप्रसाद सिटौलालाई पनि बोलाएका छन्। बैठक केही बेरपछि सुरु हुने केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी गराए। उक्त समूहले सहमतिका लागि लचकता अपनाउने तयारी गरेको बताइएको छ।
१४औं महाधिवेशनको मिति घोषणा गर्न सहमत भएको संस्थापन पक्षसँग पौडेल पक्षले निश्चित कार्यतालिकासमेत माग गरेको छ। मंगलबार नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको बैठकमा भ्रातृ संस्था, विभाग, कार्यतालिका र क्रियाशील सदस्यताका विषयमा छलफल भएको थियो। संस्थापन पक्ष र पौडेल पक्षका नेताहरु बीच भएको छलफलमा नेता सिटौला पनि सहभागी भएका थिए।
पछिल्लो समय विभाग र भ्रातृ संस्थाको भागवण्डामा सहमति हुन नसकेको बताइएको छ। संस्थापन पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलको नेतृत्व अन्य पक्षलाई नदिने अडान लिएको छ। मंगलबार नै पौडेल पक्षले नेविसंघ र तरुण दलको छुट्टाछुट्टै बैठक बोलाएको थियो।
नेविसंघमा ४६ प्रतिशत यसअघि आफ्नो पक्षका विद्यार्थी नेताहरु विजयी भएकाले सोहि अनुरुपको हिस्सा दिनुपर्ने माग गरेका छन्। तरुण दलको नेतृत्वमा पौडेल पक्षले समेत दाबी गरेको छ। विद्यार्थी संगठनको नेतृत्व संस्थापनसँगै राख्ने भए तरुणको दलमा पौडेल पक्षले दाबी गरेको छ।
पौडेल पक्षले ४१ विभाग मध्ये शक्तिशाली विभागमा आफ्नो भूमिका खोजेको छ। क्रियाशील सदस्यता अद्यावधिक गरिएपछि जिल्लाबाट आएका संख्या र नामावली सार्वजनिक हुनुपर्ने संस्थापन इतरका नेताहरुको तर्क छ।
गत बिहीबारदेखि बोलाइएको बैठक पार्टीभित्रको किचलोले गर्दा प्रभावित हुँदै आएको छ। पार्टीभित्र सहमति गरी सुचारु गर्नका लागि मंगलबारको बैठक स्थगित गरिएको हाे। सोमबार बैठक बोलाए पनि अन्य पक्षका नेता अनुपस्थित भएपछि बस्दै नबसी रोकिएको थियो। बुधबारकाे बैठक १ बजे बस्ने गरि बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।