काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य शंकर पोखरेलले छिटो महाधिवेशनतिर जानु उचित हुने बताएका छन्।
जारी स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै उनले विधानमै उपाध्यक्षको व्यवस्था गरिनु उचित हुने पनि बताए।
'पार्टी केन्द्रमा उपाध्यक्ष पद राख्ने कुरा सचिवालयको सर्वसम्मत निर्णयका रुपमा आएको सन्दर्भमा यसलाई अघि बढाउन उपयुक्त नै हुन्छ। अहिले नै योभन्दा बढी संगठनात्मक रुपमा हेरफेर गर्ने कुरा गर्नु उचित देखिंदैन। बरु छिटो अधिवेशनतिर जानु उपयुक्त हुन्छ। अधिवेशनबाट बनाउने कमिटी संरचनाका सन्दर्भमा भने तयारीसहित आगामी बैठकमा छलफल गर्नु उपयुक्त हुन्छ', उनले भने।
पोखरेलले उप निर्वाचनको सन्दर्भको प्रस्तुति निकै प्रतिरक्षात्मक रहेको बताए। 'मध्यावधि निर्वाचन सत्तापक्षका लागि आमरुपमा चुनौती हुने गर्दछ लोकतन्त्रमा। तर‚ अहिलेको परिणाम त्यस्तो रहेन', उनको धारणा थियो, 'यद्यपी प्रतिपक्षका पक्षमा अन्य दलहरुको ध्रुविकरणले परिणाममा केही प्रभाव पारेको छ। हो, बाहिरबाट हेर्दा धरानको उपनिर्वाचनमा भएको पराजय भने एक प्रकारको धक्काजस्तो भयो। भक्तपुर, भरतपुर र घोराहीको हार शिक्षाको विषय हो। तर पनि निर्वाचनको समग्र परिणाम राम्रो छ।'
प्रतिवेदनको मुलस्प्रिट सही रहेको भए पनि पार्टी एकताको उपलब्धि र सरकारको कामका सकारात्मक परिणामहरु र भविष्यमा आउने सम्भाव्य परिणामको चर्चा गरिनुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।