बेइजिङ- चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको कुअङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मङ्गलबार भएको विस्फोटनमा परी १४ जनाको मृत्यु भएको छ।
खानीमा रहेको ग्यास विस्फोटनपछि उक्त घटना भएको जनाइएको छ। अन्य दुईजना अझै खानी भित्रै च्यापिएको अधिकारीहरुले जनाएका छन्।
मङ्गलबार बिहानको समयमा भएको यस विस्फोटमा च्यापिएका ती दुई व्यक्तिको खोजी भइरहेको स्थानीय अधिकारीहरुको जनाएका छन्। घटनास्थलबाट अरु सात जनालाई भने जिवितै उद्धार गरिएको छ।
चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने सिचुआन प्रान्तमा रहेको अर्को एउटा खानीमा बाढीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको र तेह्र जना खानी भित्रै च्यापिएको भोलीपल्ट यो घटना भएको हो।
बाढी आएका बेला सो खानीमा ३ सय ४७ जनाले काम गरिरहेका थिए। चीनमा यस्ता विस्फोटनका घटना निरन्तर हुदै आएका छन्। पर्याप्त र उचित सुरक्षाको व्यवस्था नगरिएकाले विस्फोटनका घटना हुने र मानिसहरुको मृत्यु हुने गरेको छ।
गत महिना सान्छीमा रहेको खानीमा भएको विस्फोटनमा परी कम्तीमा १५ जनाको मृत्यु भएको थियो। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।