पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको चौथो खेलमा चितवन राइनोजले पोखरा पल्टनलाई ६ विकेटले हराएको छ। चितवनले १ सय ८ रनको लक्ष्य १४.५ ओभरमा ४ विकेट जाँदा पूरा गरेको हो।
सामान्य लक्ष्य पछ्याएको चितवनका ओपनिङ ब्याट्सम्यान चल्न नसके पनि तेस्रो क्रममा आएका बाबर हयातले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जिताएका हुन्। ४२ बल खेलेका बाबरले ६६ रन बनाए। अविजित रहेका उनले ६ चौका ४ छक्का हाने।
गएको वर्ष भएको पहिलो पिपिएलको फाइनलमा पोखरासँग नै ३ विकेटले हारेको चितवन जारी दोस्रो पिपिएलमा थप बलियो देखिएको छ।
ओपनिङमा आएका अनिल साह दुई बल खेलेर बिनारन आउट भएका थिए। अर्का ओपनर रोहन मुस्तफाले १४ बलमा ११ रन हाने। कप्तान पारस खड्काले ७ बलमा ४ रन हाने। आरिफ शेख ठूलो सट खेल्न खोज्दा एक रनमै आउट भए। सन्नी पटेलले १८ बलमा २२ रन बनाए।
पोखराका रसिद खान र सर्वजित लद्दाले दुई–दुई विकेट लिए।
यसअघि टस जितेर चितवनले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पोखरा पूरा २० ओभर खेल्दै १ सय ७ रनमा अलआउट भएको थियो।
.JPG)
पोखराका लागि ओपनिङ गरेका कुशल भुर्तेल ५ बलमा ५ रन बनाउँदा आउट भए। यसअघि पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्सविरुद्ध ४३ बल खेल्दै ६५ रन बनाएका उनी चितवनविरुद्ध सन्नी पटेलको बलमा एलबिडब्लू आउट भए।
अर्का ओपनर आसिफ शेख पनि १० रनमा नै आउट भए। १५ बल खेलेका उनी बिक्रम सोबको बलमा क्याच आउट भएका हुन्। रवि इन्दर सिंहलाई पारस खड्काले बोल्डआउट गरे। अफ स्पिन बलिङ गरेका खड्काले २ ओभरमा ६ रन मात्रै दिएर १ विकेट लिएका हुन्।
बिनोद भण्डारी ८ बलमा ७ रन बनाउँदा भुवन कार्कीको बलमा आउट भए। कुशल मल्लले १२ बलमा १३ रन बनाए। रोहित कुमार पौडेल पहिलो बलमा नै रन आउट भए। कप्तान शरद भेषावकरले ३९ बलमा ४५ रन बनाए। उनले ३ चौका, ३ छक्का हाने। उनलाई रोहन मुस्तफाले आउट बनाएका हुन्। मुस्तफाकै बलमा प्रथमेस दाके पहिलो बलमा नै आउट भए। सर्वजित लड्डा भुवनको बलमा एलबिडब्लू आउट भए।
चितवनका लागि सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले दुई–दुई साथै कप्तान पारस, करण केसी र बिक्रम सोबले एक–एक विकेट लिएका थिए।





.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।