काठमाडौं- नेपाली कांग्रेस भित्रको विवाद अन्त्यका लागि अन्ततः भागवण्डाको तयारी भएको छ। चार बुँदे माग राखेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई भ्रातृ संस्था र विभागमा ४० प्रतिशत हिस्सेदार बनाएर विवाद अन्त्य गर्न लागेको पार्टी सभापति देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी गराए।
बिहीबारदेखि डाकिएको बैठक पौडेल पक्षको असहयोगका कारण सुचारु हुन सकेको छैन। १४औं महाधिवेशनको एकल माग उठाएको पौडेल पक्षले प्याकेजमा सहमतिका लागि थप प्रस्ताव उठाएको थियो। पछिल्ला बैठकबाट संस्थापन पक्ष १४औं महाधिवेशनको मिति तोक्न समेत तयार भएको थियो।
पौडेल पक्षले उठाएको महाविधेशनको कार्यतालिका सम्बोधन गर्न संस्थापन पक्ष तयार भए पनि भागवण्डामा अन्तिम सहमति हुन बाँकी रहेको बताइएको छ।
भ्रातृ संस्था,विभाग र कार्यसम्पादन समितिमा तीन पक्षले भागवण्डा गर्न लागेको देउवा निकट एक केन्द्रीय सदस्यले जानकारी दिए। संस्थापन पक्षले ६० प्रतिशत आफ्नो समूहलाई छुट्याएर ४० प्रतिशत पौडेल समूहलाई दिने तयारी गरेको छ।
६० प्रतिशतमा देउवाले तेस्रो धारका नेता कृष्णप्रसाद सिटौला पक्षलाई समेत समेट्ने बताइएको छ। पौडेल पक्षलाई मनाउन देउवाले आफ्नो समूहलाई प्राप्त संख्याबाटै सिटौला समूहलाई पनि छुट्याउने भएका हुन्। विभागको संख्या घटाउनुपर्ने अडान लिएको पौडेल पक्षले ४१ विभागमा आफ्नो सम्मानजनक हैसियत भए त्यसलाई समेत स्वीकार्ने बताइएको छ।
देउवा निकट एक नेताले भने, ‘उहाँहरुले विभाग २८ बनाउन माग गर्नुभएको थियो। बढेको संख्या अनुसार आफ्नो भाग प्राप्त हुने भए सहमति गर्न तयार हुनुहुन्छ।’
भ्रातृ संस्थाको नेतृत्व देउवा समूहबाटै
गत माघदेखि भंग भएको नेपाल विद्यार्थी संघ र गत मंसिरबाट कार्यकाल सकिएको तरुण दलमा तदर्थ समिति बनाउन लागिएको छ।
तदर्थ समितिको नेतृत्व भने देउवा पक्षले राख्ने भएको छ। पार्टी स्रोतका अनुसार भ्रातृ संस्थाको मूल नेतृत्व संस्थापनले राखेर पदाधिकारी अन्य समूहलाई दिने तयारी भएको छ। तरुण दलका निर्वतमान महासचिव भुपेन्द्रजंग शाहीको स्थानमा पौडेल पक्षले अर्को व्यक्ति पठाउनु पर्नेछ। संस्थापन पक्षले शाही फिर्ता हुनुपर्ने सर्त राखेको छ।
देउवा सिटौला भेट
उपत्यका बाहिर रहेका कारणले बिहीबारको केन्द्रीय समितिको बैठकमा उपस्थित हुन नसकेका नेता सिटौलाले सोमबार सभापति देउवालाई पार्टी कार्यालयमै भेटेका छन्। बहुमत र बहिष्कारको विपक्षमा रहेका सिटौलाले दुई पक्षबीच समन्वयको भूमिका समेत देखाएका छन्। देउवासँगको भेटपछि नेपाललाइभसँग सिटौलाले भने,‘बहुमत र बहिष्कारको विपक्षमा छु। समय धेरै लागे पनि सहमतिबाटै निर्णय हुनुपर्छ।’
देउवा र सिटौलाको वार्तापछि थप छलफल गर्नका लागि मंगलबार केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ। सिटौलाकै आग्रहमा आन्तरिक छलफलका लागि बैठक स्थगित गरिएको बताइएको छ।
बिहीबार र आइतबार संस्थापन समूहका नेताहरु सहभागी भएर केन्द्रीय समितिको बैठक सञ्चालन भए पनि सोमबार बैठक बस्नै सकेन।
थप छलफल आज
मंगलबार भएका दुईपक्षीय वार्ता सकारात्मक दिशामा अघि बढेको नेताहरुले प्रतिक्रिया दिएका छन्। नेता प्रकाशमान सिंहको निवासमा दुई पक्षका नेताबीच अपरान्ह वार्ता भएको थियो। त्यस लगत्तै नेताहरुले शीर्ष नेताहरुलाई कार्यदलका सदस्यले ब्रिफ्रिङ गरेका थिए।
नेता पौडेल निवासमा उनी पक्षीय नेताहरुको साँझ बैठक बसेको थियो। कार्यदलमा रहेका उपसभापति विमलेन्द्र निधि, सिंह, दिलेन्द्रप्रसाद बडु हृदयराम थानीबीच छलफल हुने भएको छ।
पौडेल निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘धेरै कुरा टुगिंएको छ। विगतमा सहमति भएर पनि धोका भएकाले त्यस्तो नहोस् भन्ने चाहेर ठोस सहमति गर्न लागेको हो।’ उनले आज सहमतिमा पुगिने जानकारी गराए। पौडेल पक्षले उठाएको क्रियाशील सदस्यहरुको नाम र संख्या कार्यदललाई उपलब्ध गराउने विषयमा आज थप छलफल हुनेछ।
दुई पक्षका नेताबीच बैठक निश्चित भए पनि समय र स्थान एकिन भएको छैन। केन्द्रीय समितिको बैठक बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।