बैतडी- गाउँपालिकालाई उज्यालो बनाउने उद्देश्यले बैतडीको दोगडाकेदारमा निःशुल्क रुपमा सोलार वितरण भइरहेका छन्।
विद्युत् सेवाको पहुँचबाहिर रहेका दलित परिवारलाई ‘उज्यालो दोगडाकेदार’ कार्यक्रमअन्तर्गत निःशुल्क रुपमा एक हजार सोलार वितरण गरिन लागिएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरसिंह विष्टले जानकारी दिए।
सो गाउँपालिकाको वडा नं १ का ८५ घरपरिवालाई सोलार वितरण गरी सो कार्यक्रम शुरु गरेको उनले बताए। दोगडाकेदार गाउँपालिकाको २० लाख तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको थप अनुदान सहयोगमा सोलार वितरण गरिन लागिएको हो।
वडा नं १, २, ६ र ८ का दलित बस्तीमा विद्युत्को पहुँचबाहिर रहेका सम्पूर्ण घरधुरीलाई एकएक थान सोलार वितरण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्टले बताए। वडा कार्यालयबाट लगत मागेर सम्बन्धित वडाध्यक्ष र सचिवको रहोवरमा सोलार वितरण भइरहेका दोगडाकेदार गाउँपालिकाले जनाएको छ।
सो गाउँपालिकाभित्र एक हजार बढी दलित परिवार रहेका छन्। ‘उज्यालो दोगडाकेदार’ गाउँपालिकाका रुपमा चिनाउनका लागि सोलार वितरण गरिन लागेको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।