बेरूत- लेबनानका राष्ट्रपति मिसेल आउनले नयाँ प्रधानमन्त्री चयन गर्न परामर्शका लागि बोलाएको बैठक सोमबार स्थगित गरेका छन्।
लेबनानमा सरकारी सुरक्षाकर्मी र आन्दोलनकारी समूहबीच भएका झडपले गत हप्ताको अन्त्यतिर हिंसात्मक रूप लिएपछि प्रतिपक्षी आन्दोलनकारी र सत्ता पक्षका अधिकारीको प्रतिनिधित्वसहितको संसदीय परामर्श बैठकको आह्वान गरिएको थियो।
राष्ट्रपतिको कार्यालयले ट्वीटरमार्फत् गराएको जानकारीमा भनिएको छ, ‘राष्ट्रपति आउनले कामचलाउ प्रधानमन्त्री साद हरिरिको चाहना अनुरूप आगामी बिहीबारसम्म बैठक स्थगित गर्न गरिएको आग्रहपछि अन्तिम समयमा आएर बैठकलाई स्थगित गर्नुभएको छ।’
लेबनानमा भ्रष्टाचार र अर्थतन्त्र सुधार गर्ने वाचासहित सत्तामा पुगेका हरिरिले देशमा आफ्नो वचनअनुसार काम गर्न नसकेपछि प्रतिपक्षी दलले उनको राजिनामाको माग गर्दै सडक आन्दोलनमा उत्रेका थिए। आन्दोलनमा नागरिकको सहभागिता बढ्दै गएपछि हरिरिले अक्टोबर २९ मा राजिनामा गरेका थिए।
त्यसपछि नयाँ प्रधानमन्त्रीको चयनका लागि राजनीतिक दलहरूमा व्यापक विभाजन देखिएपछि लेबनानले अझै नयाँ नेतृत्व चयन गर्न सकेको छैन। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।